४ जेठ, पर्सा । वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ परवानीपुर क्षेत्रको डुबान समस्या समाधान गर्ने लक्ष्यसहित १,२५६ मिटर लामो नाला निर्माणको शिलान्यास गरिएको छ। खानेपानी तथा ढल निकास मन्त्री प्रदीप यादवले आज आफ्नो निर्वाचन क्षेत्रभित्र नाला तथा ढल निर्माण कार्यको औपचारिक सुरुवात गरे।
शिलान्यास कार्यक्रममा मन्त्री यादवले निर्माण सम्पन्न भएपछि वर्षायाममा डुबानको समस्या हट्ने र स्थानीय सडकमा सवारी आवागमन सहज हुने विश्वास व्यक्त गरे।
‘यो आयोजना सम्पन्न भएपछि जल निकासी प्रणाली सुधार हुनेछ र सडकसमेत व्यवस्थित बन्नेछ,’ मन्त्री यादवले भने, ‘स्थानीय पूर्वाधार विकासमार्फत नागरिकको दैनिकी सहज बनाउने हाम्रो प्राथमिकता हो।’
उनले खानेपानी तथा ढल व्यवस्थापनजस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका कामलाई सरकारको प्राथमिकता रहेको भन्दै यस्ता आयोजनाहरू समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। साथै, विकास निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार सुप्चैनादेखि परवानीपुरसम्म निर्माण गरिने नालाको कुल लागत १ करोड ७२ लाख रुपैयाँ रहेको छ।
उनले नाला निर्माणपछि क्षेत्रको पानी सहजै निकास हुने र हरेक वर्ष आउने डुबानको समस्या अन्त्य हुने विश्वास व्यक्त गरे।