लुफ्थान्सा विमान १० मिनेट पाइलटविनै आकाशमा, सह–पाइलट बेहोस हुँदा कप्तान शौचालयमा

१ महिना अगाडी न्युज डेस्क

लुफ्थान्सा विमान १० मिनेट पाइलटविनै आकाशमा, सह–पाइलट बेहोस हुँदा कप्तान शौचालयमा

४ जेठ, काठमाडौं । लुफ्थान्सा एयरलाइन्सको एक विमान १० मिनेटसम्म पाइलट विना उडेको खुलासा भएको छ। फेब्रुअरी २०२४ मा जर्मनीबाट स्पेन जाँदै गरेको एयरबस ए३२१ विमानमा यस्तो घटना भएको हो। हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनले घटनाको विवरण खुलाएको हो।

फ्रान्कफर्टबाट सेभिया जाँदै गरेको सो विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। विमान अवतरण हुनु ३० मिनेट बाँकी रहेको बेला कप्तान शौचालय जान बाहिरिए। त्यसबेला सह–पाइलट पूर्ण होशमा र सतर्क थिए भन्ने कप्तानको भनाइ छ।

सह–पाइलट बेहोस भएपछि ८ मिनेटसम्म सम्पर्कविहीन

झण्डै ८ मिनेटपछि कप्तान फर्किंदा ककपिटको ढोका बन्द थियो र भित्रबाट कुनै प्रतिक्रिया थिएन। उनले सुरक्षा कोड प्रविष्ट गरे पनि ढोका खुलेन। इन्टरकममार्फत बोल्दा पनि उत्तर नआएपछि आपतकालीन कोडको प्रयोग गर्न लागेका बेला सह–पाइलटले होसमा आएर ढोका खोले।

कप्तानका अनुसार, सह–पाइलटको अनुहार मलिन थियो, पसिना आइरहेको थियो र उनी असन्तुलित अवस्थामा थिए। तत्कालै क्याबिन क्रू र यात्रुका रूपमा सवार एक डाक्टरको सहयोगमा प्राथमिक उपचार प्रदान गरियो। डाक्टरले सम्भावित मुटु सम्बन्धी समस्या रहेको आशंका व्यक्त गरे।

“म बेहोस भएँ, तर कहिले थाहा छैन”

अनुसन्धान प्रतिवेदनअनुसार सह–पाइलटले आफू बेहोस भएको थाहा नै नपाएको बताएका छन्। “सरागोसा माथि उडिरहेको याद छ, त्यसपछि मलाई क्रू र डाक्टरले उठाइरहेको अवस्थामा होस आयो,” उनले भनेका छन्।

प्रतिवेदनका अनुसार बेहोसी अचानक भएकोले उनी कुनै संकेत दिन पनि सकेनन्। तत्कालै कप्तानले विमानको नियन्त्रण लिएर म्याड्रिडतर्फ मोडे। विमान सुरक्षित अवतरण गरियो र सह–पाइलटलाई अस्पताल पुर्‍याइयो।

चिकित्सकहरूले उनलाई न्युरोलोजिकल समस्या भएको बताएका छन् र हालका लागि उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरिएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?