४ जेठ, जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका कार्यालयको पछाडि अवस्थित दिर्घीका सर पोखरी सौन्दर्यकरणका लागि झण्डै साढे ६ करोड रुपैयाँ खर्च भइसकेको छ। तर अहिले उक्त पोखरी घाँस र झाडीले ढाकिएको, फोहोर थुपारिएको डम्पिङ साइटजस्तो देखिन्छ।
उपमहानगरपालिकाका अनुसार पोखरीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रिया सुरु गरिएको थियो। कन्टिजेन्सी बाहेक ४ करोड ८७ लाख २१ हजार रुपैयाँ अनुमानित लागत रहेको यो परियोजनाको ठेक्का गौरी पार्वती महतो जे.भी. जनकपुर–८ ले पाएको थियो। उनले भ्याटसहित ४ करोड ७४ लाख ६६ हजार रुपैयाँमा ठेक्का पाएका थिए।
सम्झौताअनुसार १५ माघ २०७९ भित्र काम सम्पन्न गरिनुपर्ने थियो। सम्झौता बमोजिम पोखरीको तीनतिर पर्खाल, चारै किनारमा इन्टरलक ब्लक, रिटेनिङ वाल, घाट, रेलिङ, पक्की बेञ्च, पिलरमा शिव मूर्ति र पानीको फोहरा, माटोका भाँडा, टिकट काउन्टर र सार्वजनिक शौचालय निर्माण गरिएको छ।
तर यति धेरै रकम खर्चिए पनि पोखरीको अवस्था झनै बिग्रिएको स्थानीयको गुनासो छ। इन्टरलक ब्लक फुटेका छन्, संरचनाहरू तोडफोडमा परेका छन्, बत्तीहरू भाँचिएका छन्। फोहोरको थुप्रोले पोखरीलाई डम्पिङ साइटजस्तो बनाएको छ। स्थानीयका अनुसार केही घरधुरी र उपमहानगरपालिकाकै फोहोर पोखरीमा फालिन्छ।
स्थानीय धर्मराज मण्डल भन्छन्, “सात वर्षदेखि बजेट छुट्याइन्छ, खर्च गरिन्छ, तर प्रतिफल शून्य छ। पोखरी अझै घाँसे मैदानजस्तै छ। बत्तीहरू तोडिएका छन्, संरचना जिर्ण छन्। करोडौं खर्च भयो, तर प्रयोगमा आउन सकेन।”
पश्चिम-दक्षिण कुनामा जग्गा विवादका कारण पर्खाल बन्न सकेको छैन। विवाद अदालतमा पुगेपछि काम रोकिएको थियो।
उपमहानगरपालिकाका अनुसार परियोजनाको अन्तिम म्याद १० असार २०८१ सम्म तोकिएको थियो। भेरिएसनसहित कुल ६ करोड ३५ लाख ८० हजार रुपैयाँ निर्माण कम्पनीलाई ६ किस्तामा भुक्तानी गरिएको छ। अन्तिम भुक्तानी २० असार २०८१ मा गरिएको हो। एक कर्मचारीका अनुसार अन्तिम किस्तामा साढे ४ लाख रुपैयाँ बढी भुक्तानी भएको छ।
सौन्दर्यकरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ र अनुसन्धान अगाडि बढिसकेको छ।
पोखरीको तीनतिर स्थानीय बस्ती र एकतिर उपमहानगरपालिका कार्यालय रहेकोले पोखरी सडक वा रिङरोडबाट देखिँदैन। पूर्वमेयर लालकिशोर साहले यसलाई पर्यटकीय स्थल बनाउने अभियान सुरु गरेका थिए।
योजना सकिएको भनिए पनि प्रयोगमा ल्याउन नसकिएकोमा वर्तमान मेयर मनोजकुमार साह भन्छन्, “अब प्रयोगमा ल्याउन सरसफाइ गर्नु पर्छ, तीन फिट माटो हटाउनु पर्छ। त्यो काम सुरु भइसकेको छ।”
उनका अनुसार पोखरीको माटो र घाँस हटाउन ३० लाख रुपैयाँमा नयाँ टेण्डर गरिसकिएको छ। तर संरचनाको मर्मतका लागि थप २० लाख रुपैयाँभन्दा बढी खर्च हुन सक्ने अनुमान छ।