प्रधानमन्त्री पत्नीको भनाइ– ‘ट्याक्सी ड्राइभरले मेरी बहिनीलाई ओलीबारे आपत्तिजनक कुरा भन्यो

१ महिना अगाडी न्युज डेस्क

प्रधानमन्त्री पत्नीको भनाइ– ‘ट्याक्सी ड्राइभरले मेरी बहिनीलाई ओलीबारे आपत्तिजनक कुरा भन्यो

काठमाडौँ, ५ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू वा आफन्तले कहिल्यै पदको दुरुपयोग नगरेको दाबी गरेकी छन्।

आफ्नो पुस्तक ‘करुणा’ सम्बन्धी सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै शाक्यले ओली प्रधानमन्त्री वा अन्य जिम्मेवारीमा रहँदा कुनै पनि नातागोता वा आफन्तलाई लाभ पुग्ने गरी भर्ना, नियुक्ति वा विशेष सुविधा नदिइएको स्पष्ट पारिन्।

“हाम्रो नातागोतालाई कतै सानो–ठूलो पावर प्रयोग गरेर राखिएको छ भने देखाउनुस्,” उनले भनिन्, “एकजना व्यक्ति पनि सानो पदमा भर्ना गरिएको छैन।”

शाक्यले आफन्तमार्फत पहुँच खोज्ने प्रवृत्तिप्रति पनि असन्तोष जनाइन्। उनले भनिन्, “म कडा स्वभावकी भएकाले कोही पनि मेरोमा माग लिएर आउँदैन। मान्छेहरू खोज्दै हिँड्ने रहेछन्, कोसँग भनेको सजिलो हुन्छ भनेर।”

उनले माइती पक्षका आफन्तलाई झन्झट दिएको विषयमा एक प्रसङ्ग पनि सुनाइन्। “मेरो कान्छी बहिनी स्टाफ नर्स हो। एकदिन साँझ क्लिनिक जान हतारमा ट्याक्सी चढेकी थिई,” उनले भनिन्, “ट्याक्सीमा चालकले ओलीले नातागोतालाई गाडी–सुविधा दिएको भन्दै टिप्पणी गरेपछि उसलाई रिस उठ्यो।”

शाक्यका अनुसार बहिनीले जवाफमा आफू ओलीकी साली भएको र त्यस्तो सुविधा पाएको भए ट्याक्सी चढ्न नपर्ने बताउँदै चालकलाई गाली गर्दै ओर्लिएकी थिइन्।

शाक्यले आफूहरू कुनै पनि अवैधानिक लाभमा नलागेको, पहुँच र सत्ताको दुरुपयोग नगरेको उदाहरणसहित दाबी गर्दै पदमा बसेको समयमा पनि यथासम्भव पारदर्शी र मर्यादित व्यवहार गरिएको स्पष्ट पारेकी हुन्।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?