बटेश्वर गाउँपालिकामा अख्तियारको छापा: योजना कागजात नियन्त्रणमा

१ महिना अगाडी न्युज डेस्क

बटेश्वर गाउँपालिकामा अख्तियारको छापा: योजना कागजात नियन्त्रणमा

६ जेठ, जनकपुरधाम — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारेर विभिन्न योजनासम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। सोमबार अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले ‘सेटिङ’ र ‘अलपत्र’ योजनाका फाइलहरू संकलन गरेको हो।

अख्तियारले योजनामा अनियमितताको आशंका गर्दै कार्यालयसँग कागजात माग गर्दै पटक–पटक पत्राचार गरे पनि सहयोग नपाएपछि टोली स्वयं कार्यालय पुगेर फाइल संकलन गर्न बाध्य भएको हो।

तर, सम्बन्धित फाइलहरू रहेको दराजको साँचो पूर्व लेखा अधिकृत सुमन पुरीसँग भएको र उनी हाल निलम्बनमा रहेकाले कर्मचारीहरूले साँचो दिन मानेका थिएनन्। अख्तियारका एक अधिकारीका अनुसार झन्डै चार घण्टासम्म साँचो नपाएपछि ताल्चा फोड्ने चेतावनी दिइएपछि मात्रै दराज खोलेर फाइल दिइएको थियो।

गाउँपालिका कार्यालयका एक कर्मचारीका अनुसार अनियमितताको आरोप लागेका योजनाहरूमा—

  • कार्यालयअगाडिको अधुरो महादेव मन्दिर

  • वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको अधुरो चार कोठे भवन

  • अन्य केही अलपत्र योजनाहरू
    परिचित छन्।

यी सबै योजना तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीको कार्यकाल (आर्थिक वर्ष २०७८/७९) मा सम्झौता गरिएको थियो। आरोप अनुसार, रौतहटको आर्यन कन्ट्रक्सनलाई टेन्डर र कोटेसनमार्फत करिब एक दर्जन योजना ‘सेटिङ’मा दिइएको थियो।

संलग्न योजनाहरूमा श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, प्रशासनिक भवनको दोस्रो तला, दलित बस्तीका सडकहरूमा PCC ढलान, सार्वजनिक दलान निर्माण, र दलित बस्तीका आवास निर्माण समावेश छन्।

आर्यन कन्ट्रक्सनलाई दिइएका योजनामा एक प्रतिशत पनि लागत बिलो नगरी काम दिइएको बताइएको छ। यिनमा पालिकाका बहालवाला इन्जिनियरलाई जिम्मेवारी नदिई करारका इन्जिनियरमार्फत बर्दिबासमै कागजात तयार पारिएको उल्लेख गरिएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?