धमिलो खोलाको पानीमै निर्भर तिल गाउँबासी

१ महिना अगाडी न्युज डेस्क

धमिलो खोलाको पानीमै निर्भर तिल गाउँबासी

७ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा पछिल्लो एक सातादेखि खोलाको धमिलो पानी पिउन बाध्य छन्।

जेठ १ गते राति हिमताल भाँचिँदा लेदो सहितको बाढीले गाउँको खानेपानी संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो। बाढीले पानीका पाइपलाइन र धाराहरू बगाएपछि स्थानीयहरू नजिकैको गुनछुसा खोलाको पानीमै निर्भर छन्।

स्थानीय कन्जोक फुर्व लामाका अनुसार, गाउँमा पानीको विकल्प नभएकाले धमिलो भए पनि खोलाको पानी पिउनु बाध्यता बनेको छ। “कतिबेला धमिलो आउँछ, कतिबेला सफा — पानी त पिउनै पर्‍यो,” उनले भने।

सोनाम साङमु लामाले पनि झण्डै सात दिनदेखि धमिलो पानी सेवन गर्दै आएको बताए। धमिलो पानी पिउनुपर्दा बिरामी पर्ने डर रहेको उनको भनाइ छ।

बाढी र पहिरोले तिल गाउँमा घर, पुल, लघु जलविद्युत् आयोजना लगायतका संरचनामा व्यापक क्षति पुर्‍याएको छ। जोखिम बढेपछि गाउँका १८ परिवार घर छाडेर पालमुनि बस्न बाध्य भएका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर दिनेश भट्टले तिल गाउँमा खानेपानी मर्मतका लागि आवश्यक पाइप सामग्री पुर्‍याइसकेको जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?