काठमाडौँ, ८ जेठ। काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार एक यात्रुवाहक बस अनियन्त्रित भई ७ वटा सवारी साधनमा ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिल बोहराका अनुसार एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परेर घाइते हुनेहरूमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय विकास कट्टेल र खोटाङका ३७ वर्षीय शैलेन्द्र राई रहेका छन्। घाइतेमध्ये श्रेष्ठ र राई मोटरसाइकल चालक हुन्।
बसले ठक्कर दिएको सवारी साधनहरूमा बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटर छन्।
दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।