९ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरूमा शिक्षक अभाव हटाउनका लागि सुरु गरेको प्रक्रिया अन्तर्गत ३२ जना शिक्षकको नियुक्ति गरेको छ। नगरपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका लागि ७२ पदको विज्ञापन गरिए पनि प्रतिस्पर्धामार्फत केवल ३२ जना मात्र उत्तीर्ण भएका हुन्।
नगरपालिकाले शिक्षक अभावका कारण पठनपाठन प्रभावित हुन थालेपछि ‘नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१’ निर्माण गरी चैत २७ गते विज्ञापन गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत साविर कुमार महतोका अनुसार, ७२ पदका लागि करिब २०० वटा आवेदन परे पनि १९८ मात्र स्वीकृत भएका थिए। तीमध्ये ३२ जना प्रतिस्पर्धाबाट छनोट भए भने बाँकी आवेदक असफल भएका कारण सबै पद पूर्ति हुन सकेन।
छनोट भएका शिक्षकहरूलाई नियुक्तिपत्र दिई बुधबारदेखि कार्यस्थलमा खटाइएको छ। नगरप्रमुख कारीराम यादवका अनुसार, शिक्षकको तलब नगर शिक्षक अनुदान कोटाबाट प्रदान गरिनेछ। यस योजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। आगामी वर्ष पनि शिक्षकलाई निरन्तरता दिनका लागि बजेट विनियोजन गरिने उनले जानकारी दिए। बाँकी रिक्त पदका लागि पुनः विज्ञापन खुला गरिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।