११ जेठ, दमौली — शनिबार राति तनहुँको दमौलीमा बोलेरो दुर्घटनामा परी तीन युवाको ज्यान गएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–५ पाटनका कुशल, प्रवीन र कुमार मगर छन्।
शनिबार बेलुका उनीहरू काम सकेर बजार घुम्न निस्किएका थिए। राति ११ बजेतिर घर फर्किने क्रममा दमौली बजारमै बोलेरो गाडीसहित भेटिएका परिचित ग्राहक रोहित गुट्टासँग उनीहरू सवार भए। रोहितले ‘चापाघाटसम्म पुर्याइदिन्छु’ भनेपछि तीनै जना बोलेरोमा चढे। गाडीमा रोहितका साथी धिरज रौनियार पनि थिए।
तर गाडी मादी नदीको पुल पार गर्दै गर्दा अनियन्त्रित भई रेलिङमा ठोक्कियो र करिब ५० मिटर तल खसेर नदीको बगरमा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी राजु अधिकारीले जानकारी दिए। घटनास्थलमै कुशल, प्रवीन र कुमारको मृत्यु भएको हो।
गाडीका चालक रोहित गुट्टा र उनका साथी धिरज रौनियार घाइते छन्। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार धिरजको अवस्था गम्भीर रहेको छ र उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। रोहितको दमौलीमा उपचार भइरहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्।
दुर्घटनाको कारणबारे चालक रोहितले बस ओभरटेक गर्दै आइरहेको देखेर डरले गाडी मोड्दा पुलबाट खसेको दाबी गरेका छन्। “हामी यताबाट जाँदै थियौं, एक्कासि बस ओभरटेक गर्दै आइरहेको थियो,” उनले भने, “डरले बायाँ मोडेँ, तर गाडी पुलबाट खस्यो।”
उक्त दुर्घटना सम्झँदा १२ वर्षअघिको अर्को दर्दनाक घटना पनि झल्किन्छ। सोही पुलबाट १२ वर्षअघि पनि एउटा बस खस्दा ११ जनाको मृत्यु भएको थियो।
पुल सन् १९७१ (वि.सं. २०२८) मा बनेको हो। त्यसको रेलिङ पुरानो, कमजोर र सजिलै भाँचिने खालको भएको स्थानीय वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार पुलको किनारमा रहेको बीम पनि एक बित्ता मात्र अग्लो छ, जसले गाडी रोक्न सक्दैन।
तर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णु पाण्डे भने अधिकांश दुर्घटनाको मूल कारण चालकको लापरवाही र तीव्र गति भएको बताउँछन्। “दुर्घटना रोक्ने भनेको ट्राफिक नियमको पालना र चालकको सावधानी नै हो,” उनले भने।