वित्तीय प्रणालीमा अति तरलता, राष्ट्र बैंक फेरि निक्षेप संकलनमा

१ महिना अगाडी न्युज डेस्क

वित्तीय प्रणालीमा अति तरलता, राष्ट्र बैंक फेरि निक्षेप संकलनमा

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको अत्यधिक तरलता व्यवस्थापन गर्न चुनौती बनेको छ। स्थायी निक्षेप उपकरण मात्र प्रभावकारी नहुँदा राष्ट्र बैंकले साता–साता निक्षेप संकलन उपकरण (डेपोजिट कलेक्सन टुल) प्रयोग गरी तरलता खिच्ने रणनीति अपनाइरहेको छ।

यसै सन्दर्भमा, आइतबार राष्ट्र बैंकले २१ दिन अवधिको ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन खुला गरेको छ। अघिल्लो साता दुई पटक निक्षेप संकलन गरिसकेको राष्ट्र बैंकले चालु साता सुरु हुँदै फेरि यो उपाय अपनाएको हो।

यसअघि वैशाख मध्यतिर पनि राष्ट्र बैंकले एकै सातामा तीनपटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो। आइतबार परिपक्व भएको २७ अर्ब ५० करोड रुपैयाँको निक्षेप संकलनपछि प्रणालीमा करिब ९१ अर्ब रुपैयाँ तरलता रहेको अनुमान गरिएको छ, जसलाई व्यवस्थापन गर्न पुनः संकलन खुला गरिएको हो।

आइतबारसम्म स्थायी निक्षेप र निक्षेप संकलन मार्फत बैंक तथा वित्तीय संस्थाले कुल ३ खर्ब ६२ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा राखेका छन्। यसमध्ये १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ स्थायी निक्षेपमा र १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण अन्तर्गत रहेको छ।

स्थायी निक्षेपमा जम्मा गरिएको रकम तीन दिनका लागि मात्र ‘होल्ड’ हुन्छ भने निक्षेप संकलन उपकरणमा राखिएको रकम २१ दिनका लागि रहने गर्छ। स्थायी निक्षेपमा ब्याजदर निश्चित ३ प्रतिशत छ, तर निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल प्रणालीमार्फत निर्धारण गरिन्छ।

८ जेठमा भएको निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यतिबेला प्रणालीमा अत्यधिक तरलता रहेको र त्यसको सन्तुलनमा राष्ट्र बैंक सक्रिय देखिएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?