११ जेठ, धनगढी ।
कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुखसहितको टोलीले कुटपिट गरेको घटनाले विवाद सिर्जना गरेको छ। शनिबार राति करिब १० बजे भन्सार कार्यालय परिसरमै तिमिल्सिनामाथि नगर प्रहरी प्रमुख लक्ष्मण सिंह धामी नेतृत्वको समूहले कुटपिट गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ।
सीसीटीभी फुटेजमा तिमिल्सिनामाथि धकेलधकेल र हातपात गरिरहेको दृश्य देखिएको छ। उक्त भिडमा धामीसहित एक जना नगर प्रहरी पोशाकमा र अन्य केही सादा पोशाकमा देखिन्छन्।
नगर प्रहरी निरीक्षक धामीले भने कुटपिटको आरोप अस्वीकार गरेका छन्। उनले तिमिल्सिना अत्यधिक मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा अशालीन व्यवहार गरिरहेको भन्दै उल्टै आफूहरूलाई गालीगलौज र हातपात गरेको दाबी गरेका छन्।
‘हामीले उहाँमाथि कुटपिट गरेका होइनौँ। उहाँले सडकमा हामीलाई गाली गर्दै हातपात गरेपछि मैले धकेलेको मात्र हुँ,’ धामीले भने।
धामीले आफूहरूलाई भन्सार प्रमुख भएको जानकारी नहुनुका कारण अनुसन्धानका लागि कार्यालयभित्र पुगेको तर कुनै हिंसात्मक व्यवहार नगरेको दोहोर्याए।
‘त्यसबेला उहाँ चिफ हुनुहुन्छ भन्ने कसैले बताएनन्। हामी शंका लागेर मात्रै कार्यालयभित्र गएका थियौँ,’ उनले भने, ‘पछि प्रहरीबाट पुष्टि भएपछि फर्किएका हौं।’
तर, सीसीटीभी फुटेजमा भने प्रमुख तिमिल्सिनामाथि नगर प्रहरी समूहले हातपात गरेको स्पष्ट देखिन्छ। घटनाको सुरूवात तीव्र गतिमा आएको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा जाली भत्काएपछि नगर प्रहरी खोजीमा निस्किएको र सो क्रममा भन्सार परिसर पुगेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले घटनाबारे सूचना आएपछि टोली खटाइएको बताए। ‘प्रहरी पुग्दासम्म स्थिति सामान्य भइसकेको थियो,’ उनले भने, ‘विवरण संकलन भइरहेको छ।’
भन्सार प्रमुख तिमिल्सिनाले घटनाको विस्तृत प्रतिवेदन तयारीमा रहेको जानकारी दिएका छन्। भन्सार कार्यालयका सूचना अधिकारी खेम अर्यालका अनुसार प्रतिवेदन विभागमा पठाउने तयारी भइरहेको छ र नगर प्रहरी समूहमाथि आवश्यक कारबाहीको माग गरिनेछ।