११ जेठ, पोखरा । तीन दिनका लागि भनिएको राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन निर्धारित समयमा सकिने सम्भावना निकै कमजोर देखिएको छ। महाधिवेशन लम्बिनुमा नेकपा एमाले नेतृत्वले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास मुख्य कारणका रूपमा देखिएको छ।
विशेषतः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोजेको उम्मेदवारलाई अध्यक्ष बनाउन चाहँदा महाधिवेशन समयमै टुंगिन नसकेको स्रोतले जनाएको छ। तर ओलीले रोजेका व्यक्तिको नाममा सर्वसम्मति जुटाउन खटिएका नेताहरू सफल हुन नसक्दा प्रक्रिया अलमलिएको हो।
महाधिवेशनका इन्चार्ज तथा एमाले नेता राजीव पहारीका अनुसार, शुक्रबार उद्घाटन सत्रपश्चात् बन्दसत्र सुरु भई राजनीतिक, सांगठनिक, आर्थिक तथा अडिट प्रतिवेदन पेस भई पारित भइसकेका छन्। मतदाता नामावलीमा केही त्रुटि देखिए पनि चाँडै अन्तिम सूची सार्वजनिक हुने उनले बताए।
चुनावी कार्यतालिका अनुसार शुक्रबार नै मनोनयन प्रक्रिया सुरु हुनु पर्ने भए पनि अझै उम्मेदवारको टुंगो लागेको छैन। पहारीले भने, “सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ। सहमति नभए निर्वाचन प्रक्रियामै जान्छौं।”
सर्वसम्मतिको नाममा प्रतिस्पर्धालाई रोक्ने प्रयास भइरहेको भन्ने आरोपबारे उनले अस्वीकार गरे। “निर्वाचन सर्वोत्तम प्रक्रिया हो। तर प्रतिनिधिहरूको सहमतिमा सर्वसम्मति प्रयास पनि सकारात्मक विधि हो,” उनले भने, “त्यो नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ।”
उनले मेटिक भोटिङ मेसिन (मतदान प्रणाली) ल्याइसकिएको उल्लेख गर्दै प्रक्रिया रोकिने होइन भन्ने प्रस्ट पारे। प्रतिनिधिहरू होटल र सभागृहमा रहेको र बन्दसत्रमा सक्रिय रहेको भन्दै महाधिवेशन आज साँझ वा भोलि सम्पन्न हुने उनले दाबी गरे।
सर्वसम्मतिको प्रयासमा पूर्वपदाधिकारीहरूसँग बहुपक्षीय छलफल भएको जानकारी दिँदै पहारीले अन्ततः प्रक्रिया अनुसार नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरे।