चालु आर्थिक वर्षमा चीनबाट लसुनको आयातमा अत्यधिक उतारचढाव देखिएको छ। साउनदेखि वैशाखसम्मको १० महिनामा नेपालले चीनबाट झन्डै ७ अर्ब २४ करोड रुपैयाँ बराबरको लसुन आयात गरेको छ।
मात्र माघ महिनासम्म नै ५ करोड १२ लाख किलो लसुन आयात भइसकेको थियो, जसको मूल्य ६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी थियो। यो अघिल्लो वर्षको तुलनामा परिमाणका हिसाबले झन्डै पाँचगुणा र मूल्यका हिसाबले चारगुणा बढी हो। मागसम्मकै अवधिमा गत वर्ष नेपालले १ करोड ४८ लाख किलो लसुन मात्र आयात गरेको थियो, जसको मूल्य १ अर्ब ९७ करोड रुपैयाँ थियो।
विगतमा वार्षिक रूपमा १ करोड किलोभन्दा बढी लसुन आयात कहिल्यै भएको थिएन। यो वृद्धिको मुख्य कारण सीमावर्ती भारतीय बजारमा बढेको माग भएको व्यापारीहरूको भनाइ छ। भारतमा लसुनको मूल्य ह्वात्तै बढेपछि त्यहाँ चाइनिज लसुनको माग उच्च बनेको थियो।
तर फागुनदेखि वैशाखसम्मको अवधिमा लसुन आयातमा तीव्र गिरावट आएको छ। तीन महिनामा मात्र १६ लाख किलो लसुन आयात भएको छ, जसको मूल्य ३९ करोड रुपैयाँ बराबर छ।
नेपालमा वार्षिक औसत लसुन उत्पादन ७ करोड ३५ लाख किलो रहेको कृषि मन्त्रालयको तथ्यांक छ। यस्तो अवस्थामा हाल देखिएको उच्च परिमाणको आयात स्वदेशी खपत नभई सीमापार भारतीय बजारतर्फको अनौपचारिक निकासीका लागि भएको स्पष्ट संकेत मिल्छ।
चीनबाट लसुन आयात गर्ने एक व्यापारीले सेतोपाटीसँग भने, “हामी होलसेल व्यापारीबाट आएको माग अनुसार ल्याउँछौं। माग भारततर्फको भएकाले मात्र आयात बढेको हो। उनीहरूले सीमावर्ती बजारबाट भारत पुर्याउँछन्।”
अनौपचारिक रूपमा बोल्ने अन्य व्यवसायीहरूका अनुसार नेपालमा यति धेरै लसुन आवश्यक पर्दैन, वास्तविक माग भारतबाट आएको हो।
चाइनिज लसुन भारतमा लोकप्रिय छ—आकारमा ठूलो, चम्किलो, भण्डारण गर्न सजिलो र छिल्न सहज हुने भएकाले। यस वर्ष भारतमा लसुन उत्पादन घट्दा मूल्य प्रतिकिलो ३०० भारूसम्म पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। मूल्यको यही अन्तरले नेपाल हुँदै चीनबाट लसुन भारत पुर्याउने चलन बढेको हो।
तर नेपालबाट भारततर्फ लसुनको औपचारिक निर्यात छैन, भन्सार तथ्यांकले पनि कुनै रेकर्ड देखाउँदैन। सारा कारोबार अनौपचारिक मार्गबाट हुँदै आएको छ।
अर्थविद् केशव आचार्यका अनुसार, भारतका पूर्वराजदूत रणजी रेले समेत प्रश्न उठाएका थिए—“नेपालमा यति धेरै लसुन खपत कहाँ हुन्छ?” त्यसपछि नेपालले भारतसँग निगरानी कडा गर्न आग्रह गरेको थियो।
त्यसयता भारतले केही सीमावर्ती क्षेत्रलाई ‘नन-ट्रान्जिट जोन’ घोषणा गर्दै सुरक्षा चेकजाँच, सिसिटिभी निगरानी र कडाइ बढाएको छ। यिनै उपायका कारण माघपछि अनौपचारिक निकासी घटेको छ, जसको असर नेपालका लसुन आयातमा पनि देखिएको हो।
भन्सार अधिकारीहरूका अनुसार अहिले ओसारपसार रोकिएको छ। एक अधिकारी भन्छन्, “पहिले भारतले यति निगरानी गर्दैनथ्यो, अहिले चाहिँ विभिन्न नाकामा निकै कडाइ भएको छ।”
कतिपय व्यवसायीहरूका अनुसार थोरै मात्रामा अहिले पनि लसुन भारततर्फ जान्छ। एक व्यवसायी भन्छन्, “पहिले जति धेरै त हैन, तर अहिले पनि केही मात्रामा चाइनिज लसुन भारत पुगिरहेको छ।”
अर्थविद् आचार्यका अनुसार यो कारोबारले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ। “चीनबाट डलर तिरेर लसुन आयात हुन्छ, तर भारततर्फ अनौपचारिक निकासी हुँदा सोबापत बैंकमार्फत भारू आउँदैन। व्यापारीले नगद भारू लिन्छन् र त्यसैबाट अन्य सामान अनौपचारिक रूपमा नेपाल ल्याउँछन्, जसले अनौपचारिक व्यापारलाई प्रोत्साहन गर्छ,” उनले स्पष्ट पारे।