३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले टी-२०आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । त्यसकारण टी-२०आई मान्यताको यो पहिलो भेट हुनेछ ।
नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पनि पूरा गरेको छ । उक्त खेलमा किरण ठगुन्ना र रुपेश सिंहले ५०औं र ५१औं खेलाडीका रूपमा टी-२०आई डेब्यू गरेका छन् ।
स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।