काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए । जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन । ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो ।
उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताए । ‘सम्परीक्षण भन्दा पछाडिको इन्ट्री लगायतका काम भइसहेको छ । त्यो प्रोसेसिङको लागि ३५ दिन लाग्ने हो । परीक्षा नियन्त्रण कार्यालयलाई लाग्ने ३५ दिन हो । शिक्षकहरूले ३२ दिन ढिलाइ गर्नुभयो,’ भट्टराईले भने ।
यो ढिलाइलाई कम गर्न बोर्डले रातदिन काम गरिरहेको उनको भनाइ छ । ‘हामीले ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास गरिरहेका छौँ । यसका लागि हामीले डबल सिफ्टमा काम गरिरहेका छौँ,’ डाक्टर भट्टराईले भने ।
बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । यद्यपि, तोकिएको मिति भने अझै निश्चित भएको छैन । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ ।
बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो ।