साँघुरो ठाउँमा पनि मोड्न मिल्ने सस्तो चिनियाँ कार, कति पर्छ मूल्य?

२ दिन अगाडी न्युज डेस्क

साँघुरो ठाउँमा पनि मोड्न मिल्ने सस्तो चिनियाँ कार, कति पर्छ मूल्य?

कार किन्ने रहर भएर पनि महँगो मूल्य तिर्न नसकेर मन मार्नुपरेको छ?

छ भने चिनियाँ अटोमोबाइल कम्पनी जिनपेङले नेपाली बजारमा ल्याएको पहिलो मोडल ‘लिङबक्स इको–१’ ले तपाईंको रहर पूरा गर्न सक्छ।

कम मूल्यका सवारी साधन उत्पादनका लागि परिचित जिनपेङको यो गाडी नेपालमा उपलब्ध सस्तो इलेक्ट्रिक कारमध्ये एक हो।

नेपालका लागि जिनपेङको आधिकारिक वितरक ठाकुर मोटर्सले हालै सम्पन्न ‘नाडा अटो शो’ मा दुई खालका लिङबक्स कार सार्वजनिक गरेको थियो।

तीमध्ये बेस संस्करणको मूल्य १९ लाख ९९ हजार रूपैयाँ छ भने प्रिमियम संस्करणको मूल्य २४ लाख ९९ हजार छ। ठाकुर मोटर्सले भदौ महिनाभरि बेस संस्करणमा एक लाख र प्रिमियम संस्करणमा डेढ लाख रूपैयाँ छुट दिने जनाएको छ।

सस्तो मूल्यका अतिरिक्त यो कारका तीन प्रमुख विशेषता छन् —

पहिलो, सानो आकारको यो कार साँघुरो बाटोमा पनि घुमाउन सकिन्छ।

दोस्रो, ट्राफिक जाम भइरहने काठमाडौंजस्तो सहरी क्षेत्रमा हाँक्न अरूभन्दा सहज हुन्छ।

तेस्रो, ग्रामीण सडक र कच्ची बाटोका लागि पनि उपयुक्त छ।

अब हामी यो कारको मोटर र ब्याट्रीको क्षमताबारे कुरा गरौं।

लिङबक्स इको–१ मा ३५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले ४७ हर्सपावर अर्थात् ४७ वटा घोडा बराबरको शक्ति दिन्छ।

ब्याट्रीको कुरा गर्दा बेसिक संस्करणमा १९.२ किलोवाट–घन्टा क्षमताको ब्याट्री छ। यसले पूरा चार्जमा २४० किलोमिटर यात्रा गर्न सकिन्छ। प्रिमियम संस्करणको ब्याट्री भने ३१.४५ किलोवाट–घन्टा क्षमताको छ, जसले पूरा चार्जमा ३४० किलोमिटरसम्म धान्छ।

यी दुवै संस्करणका कार फास्ट चार्जिङमार्फत १.२ घन्टामै शतप्रतिशत चार्ज हुन्छन् भने एसी चार्जिङ प्रयोग गर्दा पूरा चार्ज हुन ८ देखि १५ घन्टा लाग्छ।

अब कुरा गरौं, बाहिरी बनावटको।

यो कारको उचाइ १.६७ मिटर, चौडाइ १.४७ मिटर र लम्बाइ ३.५८ मिटर छ। बाहिरबाट सानो देखिए पनि भित्र चार जनाका लागि फराकिलो र आरामदायी सिट छन्।

गाडीको अगाडि र पछाडिका पांग्राबीचको दुरी, जसलाई प्राविधिक भाषामा ‘ह्विलबेस’ भनिन्छ, त्यो २.४४ मिटर छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।

यसको ‘ग्राउन्ड क्लियरेन्स’, अर्थात सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ८.६६ इन्च (२२० एमएम) छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यसलाई कच्ची बाटोको निम्ति पनि उपयुक्त मानिन्छ।

आकारका हिसाबले यो कार चिनियाँ अटोमोबाइल कम्पनी चांगानको लुमिनसँग मिल्दोजुल्दो छ। बनावट फरक भए पनि दुवैको लम्बाइ करिब उस्तै छ।

यो कारमा दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।

उदाहरणका लागि — यसमा एन्टीलक ब्रेकिङ सिस्टम जडान गरिएको छ। यसले उकालोमा रोकेको गाडीलाई फेरि स्टार्ट गर्दा पछाडि सर्नबाट बचाउँछ।

यसमा एउटा क्यामरा र सेन्सर पनि छ, जसले पार्किङ गर्न सजिलो बनाउँछ। गाडी ब्याक गर्न वा घुमाउन पनि मद्दत गर्छ।

यो कारको ‘टर्निङ रेडियस’ ४.९ मिटर छ। यसको मतलब, साँघुरो बाटोमा पनि सजिलै मोड्न सकिन्छ। यो अंक थोरै छ भने साँघुरो बाटोमा मोड्ने क्षमता बढी हुन्छ। टर्निङ रेडियस धेरै भएको गाडी घुमाउन फराकिलो ठाउँ चाहिन्छ। त्यही भएर यो काठमाडौं लगायत सहरी क्षेत्रका साँघुरा बाटामा चलाउन निकै सजिलो हुन्छ।

भित्री बनावटको कुरा गर्दा यसमा १०.१ इन्चको टचस्क्रिन छ, जसमा ब्लुटुथमार्फत मोबाइल फोन जडान गर्न सकिन्छ। यसले बाटोको नक्सा, फोन मेसेज वा कल गर्ने र उठाउने सुविधा दिन्छ। गीत पनि सुन्न सक्नुहुन्छ।

चालक र यात्रुको सुरक्षाका लागि दुईवटा एयरब्याग राखिएका छन्।

यसमा सामान राख्ने डिक्की, जसलाई ‘बुट स्पेस’ भनिन्छ, त्यसको क्षमता ७६ लिटर छ। यसमा दुई–तीनवटा सुटकेस सजिलै अट्छन्। पछाडिको सिट फोल्ड गर्दा यो क्षमता २९३ लिटर पुग्छ, जसले लामो यात्राका लागि धेरै सामान बोक्न पर्याप्त ठाउँ दिन्छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?