जनकपुरधाम । समाजसेवी तथा नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेयले संघीयताको मर्ममाथि हस्तक्षेप भए मधेस पुनः विद्रोहमा उत्रिने चेतावनी दिएका छन्।
पाण्डेयले हाल देशमा संघीयताको आधारभूत संरचना कमजोर पार्ने र प्रदेशहरूको अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। उनले भने, ‘संघीयता मधेशले आन्दोलन, रगत र बलिदानबाट ल्याएको व्यवस्था हो। यसको आत्मा मेट्ने प्रयास भयो भने देश फेरि उथलपुथलमा जान सक्छ।’
पछिल्ला दिनमा केन्द्रले प्रदेशको अधिकार कटौती गर्ने, प्रदेश प्रमुख र मुख्यमन्त्री नियुक्तिमा राजनीतिक स्वार्थ चलाउने र बजेट बाँडफाँडमा असमानता देखाउने जस्ता कार्यहरूले संघीय व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ।
पाण्डेयले संघीयतालाई नेपालको विविधता र समानताको ग्यारेन्टी बताउँदै भने, ‘संघीयता मधेस, जनजाति, थारु, दलित र पिछडिएका वर्गहरूलाई आवाज दिने प्रणाली हो। यसमा हस्तक्षेप भयो भने केवल मधेस होइन, सारा देश नै अस्थिर हुन्छ।’
उनले संघीयता जनताको संघर्ष र सहिदहरूको बलिदानको उपलब्धि भएको समेत बताए ।



