राजमार्गका हात्तीले टेरेनन् विज्ञ टोली !

७ दिन अगाडी न्युज डेस्क

राजमार्गका हात्तीले टेरेनन् विज्ञ टोली !

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा आतंक मच्चाउने वयस्क जङ्गली हात्तीलाई नियन्त्रणमा लिन विज्ञ टोलीलाई हम्मे हम्मे परेको छ ।

एक साताअघि बारामा देखिएको जङ्गली हात्तीले सोमबार जीतपुर सिमरा उपमहानगर–१ का स्थानीय राजकुमार चौधरीको ज्यान लिएको थियो । सो घटनापछि जङ्गली हात्तीलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञ टोली फिल्डमा खटिएको छ ।

डा. अमिर सडौलासहित पाँच जनाको प्राविधिक टोली चार दिनदेखि जङ्गली हात्तीलाई नियन्त्रणमा लिने प्रयासमा भए पनि सफल भने हुन सकेको छैन । जङ्गली हात्ती सहजनाथ साझेदारी वन क्षेत्रमा देखिएको थियो ।

‘हात्ती हाम्रो रेन्जमा आइसके पनि नियन्त्रणमा लिन सकेका छैनौँ,’ डा. सडौलाले भने, ‘वयस्क जङ्गली हात्ती समूहबाट छुट्टिएर यहाँसम्म आएको हो वा खानाको खोजीमा आएको हो अध्ययन नगरी भन्न सक्ने अवस्था छैन ।’
निकुञ्जसँग जोडिएको पूर्व–पश्चिम राजमार्गमा बर्सेनि नयाँ नयाँ जङ्गली हात्तीहरू देखापर्ने गर्दछन् । यसअघि पनि ‘यमगज’ नामक जङ्गली हात्तीले बाख्रा चराउन गएकी अम्लेखगञ्जकी एक महिलाको ज्यान लिएको थियो ।
प्रायः समूहबाट छुट्टिएर स्वतन्त्र ढंगले एक्लै हिँड्ने हात्ती आक्रामक हुने भएकाले यिनीहरूले जनधनको क्षति गर्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भगत अम्लेखगञ्ज–निजगढ सडक खण्डमा ५०औँ वर्षदेखि हात्ती आउजाउ गर्दै आएको बताउँछन् ।

‘यो हात्ती हिँडडुल गर्ने बाटो (करिडोर) नै हो, पूर्वतर्फबाट यही मौसममा बर्सेनि जङ्गली हात्ती रौतहट हुँदै बारा आउँछ,’ भगतले भने, ‘यसलाई नियन्त्रणमा लिन हामीले टोली परिचालन गरिसकेका छौँ, राजमार्गमा ३ वटा समूह खटिएको छ ।’

जङ्गली हात्तीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीसमेत फिल्डमा खटिएको छ ।

‘मङ्गलबार नै हात्तीलाई डार्ट गर्न खोज्दा एक डोज औषधिले पुगेन, साँझ परेपछि हात्ती पनि जंगलतिर पसेर प्राविधिक टोलीले काम गर्न सकेन,’ सूचना अधिकारी भगतले भने, ‘आफ्नै बाटोमा हिँडिरहेका वन्यजन्तुलाई जिस्काउने, होहल्ला गर्ने, नजिकै गएर भिडियो खिच्दा आक्रामक जोखिम हुन्छ ।’

जङ्गली हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जले आफ्नो खोरमा भएका सबैभन्दा बलिया हात्तीलाई परिचालनसमेत गरेको छ ।

यता राजमार्गमा हात्तीको आक्रमण बढेपछि ट्राफिक प्रहरीले राजमार्गमा सवारी साधन रोकेर नागरिकलाई सुसूचित गर्ने काम गरेको राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले जनाएका छन् ।

जङ्गली हात्तीको विषयमा विद्यावारिधि गरेका अशोक रामले समूहबाट निकालिएका वयस्क भाले जङ्गली हात्तीबाट सबैभन्दा धेरै समस्या देखिएको बताएका छन् ।

सन् २००० देखि सन् २०२० को जुनसम्म नेपालभर ४१२ जनालाई जङ्गली हात्तीले आक्रमण गरेको थियो, जसमा २७४ जनाको ज्यान गएको छ र अन्य १३८ जना घाइते भएका रामले जनाए ।

यसअघि पर्सा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतसमेत रहेका रामले जङ्गली हात्तीले निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन वनसँग जोडिएको बस्तीमा बढी क्षति पुर्‍याउने गरेको बताए ।

‘मान्छेले हात्तीलाई लखेट्दा धेरै आक्रमणका घटनाहरू हुने गरेको छ,’ उनले भने, ‘अझ जाँड रक्सी खाएर हात्तीको वरिपरि जाने व्यक्ति निशानामा पर्दछन् ।’

राजमार्ग वा बस्ती छिरेका हात्तीलाई मान्छेले घेरा हालेर धपाउने गर्दछन् । जसले गर्दा हात्ती धेरै आक्रामक हुने गर्दछ ।

रिसाएको हात्ती अन्धाधुन्ध हिँड्ने दौडने गर्दा मानवीय क्षति हुने राम बताउँछन् । वयस्क भाले हात्तीले ठुलो समस्या ल्याएको उनले सुनाए ।

‘जाँड रक्सी, धान र नुनलगायत खाद्यान्न हात्तीले रुचाउँछन् । यस्ता खाद्यान्न मान्छे सुत्ने घरमा नराखे मान्छेमाथि आक्रमण हुने घटनाहरू कम हुने थियो,’ उनले भने, ‘यसका साथै हात्तीबाट जोगिन उनीहरूको बानी व्यवहारका बारेमा पनि स्थानीयलाई सचेत हुनु आवश्यक छ ।’

हात्ती आक्रमणका धेरै घटना पूर्वमा झापा र पश्चिममा बर्दियामा हुने गरेको अध्ययनले देखाएको छ । चितवन र पर्सा निकुञ्ज तथा कोशी टप्पु निकुञ्जले छोएका जिल्ला पनि जोखिममा नै छन् । ‘जंगलभित्र कुन समयमा छिर्ने र जंगल बाहिर कुन समयमा आक्रमणका घटना भएका छन्, कुन महिनामा आक्रमण धेरै भएको छजस्ता विषय पनि हेरेर यसका आधारमा योजना बनाउन सके हात्तीबाट हुने क्षति रोक्न मद्दत पुग्छ,’ अध्ययनकर्ता राम थप्छन् ।

यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा भने राजमार्गमा आतंक मच्चाउने हात्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउाछन् ।

‘पहिलो काम त हात्तीलाई नियन्त्रणमा लिएर थप क्षति रोक्नुपर्‍यो त्यसपछि व्यवस्थापन कसरी गर्ने भन्ने हो,’ खतिवडाले भने, ‘समूहबाट बहिष्कार भएर स्वतन्त्र रूपमा हिँड्ने हात्तीहरू धेरै घातक हुन्छन् यिनीहरूले जुनसुकै बेला पनि मानवीय क्षति गर्न सक्छन् ।’

हात्ती समूहमा हिँड्ने प्राणी हो । नेपालमा ८४ वटासम्म हात्ती एउटै समूह हिँडेको दुई वर्षअघि झापामा भेटिएको थियो । हात्तीको समूहको नेतृत्व हजुरआमाले गर्छिन् ।

जंगलमा एक्लै एक्लै हिँड्ने हात्ती प्रायः समूहबाट कारबाहीस्वरूप निकालिएका हुन् । समूहबाट बहिष्कारमा परेका हात्तीहरू बढी उदण्ड स्वभावका हुने र यिनले बढी क्षति पुर्‍याउने विज्ञहरूको भनाइ छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?