काठमाडौँ । नेपाल र भारतबिच रहेको खुल्ला सिमाना केवल दुई देशका नागरिकले मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तुहरूले पनि उपयोग गर्ने गर्दछन् । नेपालको तराई भूभागका जङ्गल क्षेत्र भारतका जङ्गल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवागमन पनि निकै हुने गर्दछ ।
जहाँ हरेक वर्ष कयौँ जङ्गली हात्तीहरू बसाइसराइ गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जङ्गली हात्तीहरूको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरू बसाइँ सर्ने गर्छन् ।
एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ । हात्तीहरूलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु बिचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।



