राई नेतृत्वको जसपा विभाजनको संघारमा

२ घन्टा अगाडी न्युज डेस्क

राई नेतृत्वको जसपा विभाजनको संघारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भइ गठन भएको जनता समाजवादी पार्टी(जसपा) विभाजनको संघारमा पुगेको छ ।

दुई वर्ष अघि विभाजित भएको जसपाका नेताहरु नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा एकता गर्ने अथवा मधेश केन्द्रित दलसित एकता गर्ने विषयमा विभाजित भएका छन् ।

जसपामा रहेका मधेशी नेताहरुले मधेश केन्द्रित दलसित एकता गर्नुपर्नेमा जोड दिएका छन् । तर राजेन्द्र श्रेष्ठलगायतका नेताहरु नेकपासित एकता गर्ने पक्षमा खुलेका छन् । अध्यक्ष अशोक राईको धारणा पनि श्रेष्ठसित मिलेको छ । सहअध्यक्ष रेणु यादव भने खुलेकी छैनन् । नेता श्रेष्ठले आइतबार एकताको विषयमा नेकपासंग छलफल गरेका थिए । त्यसअघि अशोक राईलगायतका नेताहरुले पनि नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सित एकताको विषयमा छलफल गरेका थिए ।

जसपा कार्यकारिणी समितिको सोमबार बसेको बैठकमा नेता श्रेष्ठ तथा कार्यकारिणी सदस्य पशुराम बस्नेतले नेकपासंग एकता गर्नुपर्ने पक्षमा धारणा राखे । तर महासचिव इस्तियाक राई र उपमहासचिव प्रदीप यादवले मधेश केन्द्रित दलहरुसंग एकता गर्नुपर्ने पक्षमा प्रष्ट विचार राखे । नेकपासंग एकता गर्नुपर्ने पक्षमा श्रेष्ठलगायतका नेताहरु खुलिसकेका छन् । तर अध्यक्ष राई बाहिरी रुपमा नखुले पनि श्रेष्ठ लगायतका नेताहरुलाई उनले नै अगाडि सारेका छन् ।

मधेशी नताहरुले पहिचान पक्षधरसंग एकता वा मोर्चावन्दी गर्नुपर्ने तर्क गरेका छन् । तर कुन पार्टीसँग भन्नेमा केही खुलेका छैनन् । यद्यपि अध्यक्ष राईले नेकपासंग एकताकै लाइनमा उभिने नेताहरुले बताएका छन् । आगामी चुनावमा एक्लै जान सहज नहुने निष्कर्षमा पुगेका जसपा नेताहरुले अब चुनावी ओत खोजेको बताइन्छ । उपमहासचिव प्रदीप यादवले पार्टी नै एकता गर्ने हो भने मधेश केन्द्रित दलहरुसंग गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मधेश केन्द्रित दलसंग एकता गरेपछि अन्य कुनै दलसंग गठबन्धन वा मोर्चावन्दी गर्न सकिन्छ ’ उनले भने, नेकपासंग पनि मोर्चावन्दी वा गठबन्धन गर्न सकिन्छ । तर त्यसअघि विचार, मुद्दा मिल्ने दलसंग एकता गर्नुपर्छ । ‘आफू सधैँ मधेशका मुद्दामा राजनीति गरेकाले अरु दलसँग एकता गर्ने विषयमा सोच्न समेत सक्दिन’ उनले भने, जसपा बनाएकै आदिवासी जनजाति र मधेशीको एजेण्डामा काम गर्नका लागि हो । ’

नेकपा, कांग्रेस, एमालेलगायत दल आदिवासी जनजाति तथा मधेसीको मुद्दामा सकारात्मक नरहेको प्रष्ट गरे । २०८१ वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपालबाट अलग भएर जसपा गठन गरेका नेताहरु मध्ये अधिकांश विचल्लीमा परेका छन् । उपमहासचिव प्रदीप यादव लगायतका नेताहरुले जसपा नेपालसित मिल्ने पक्षमा रहेको बताइन्छ ।

जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले उनीहरुलाई सम्मान सहित एकीकरण गर्ने बताउँदै आएका छन् । जसपाका नेताहरु यादवको सम्पर्कमा रहेका छन् । जसपा नेपालले जसपालाई एकताका लागि प्रस्ताव गरेको छ । हुन त राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि एकताका लागि जसपालाई लिखित रुपमै प्रस्ताव पठाएको छ ।

तर मधेशी नेताहरुको आकर्षण जसपा नेपालप्रति र अध्यक्ष राई सहितका केही नेताहरुको रोजाइमा नेकपा रहेको छ । दुबै पक्षले पार्टी एकता गर्नुपर्ने निष्कर्षमा पुगेकाले विभाजित भएर दुईतर्फ जाने संकेत देखिएको छ । नेकपा एमालेसितको गठबन्धनमा देशको प्रधानमन्त्री बनेका प्रचण्ड सरकारमा विदेश मन्त्री रहेका उपेन्द्र यादव विदेशमै रहेका बेला प्रचण्ड र ओलीले पार्टी फुटाइदिएका थिए ।

पार्टी विभाजन विरुद्ध निर्वाचन आयोग र जसपालाई विपक्षी बनाएर जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्चमा दायर गरेको रिटको दुई वर्ष हुन लाग्दा पनि फैसला आएको छैन । यादवले पार्टी विभाजनलाई गैर कानुनी रहेको उल्लेख गर्दै दुईवटा रिट दर्ता गरेका थिए । त्यो विचाराधीन छ । पार्टी विभाजनपछि अध्यक्ष यादवको प्रचण्डसित बिग्रेको सम्बन्धमा अझै सुधार आएको छैन ।

प्रचण्डले पछिल्लो समयमा जसपा नेपालसित सम्बन्ध सुधार्ने भरमग्दुर प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । अदालतको फैसला अगावै जसपा विभाजित भएर एउटा समूह जसपा नेपालमा मिल्ने बलियो सम्भावना रहेको उच्च स्रोतहरुले जनाएका छन् । केही नेताहरु नेकपा एमालेमा पनि समाहित हुने सम्भावना छ । वीरेन्द्र महतोलगायतले एमालेलाई रोज्ने स्रोतहरुले जनाएका छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?