४ मंसिर, धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवा विधिसहित समापन हुनेछ ।
महोत्सवको तयारी अहिले तीव्र रुपमा भइरहेको छ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् ।
विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन् । प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन् ।
अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ ।
विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक भने सहयोग नपाइएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ ।



