नगर दर्शनबाट शुरु भयो विवाह पञ्चमी महोत्सव

४ हप्ता अगाडी न्युज डेस्क

नगर दर्शनबाट शुरु भयो विवाह पञ्चमी महोत्सव

श्रीसीताराम विवाह पञ्चमी महोत्सव विधिवत रुपमा जनकपुरधाममा शुरु भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरले महोत्सवको सप्ताहव्यापी कार्यक्रम गरी महोत्सव मनाउंदै आएको छ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन नगर दर्शन गरी श्रीसीताराम विवाह पञ्चमी महोत्सवको विधिवत शुरुवात गरिएको छ । त्रेतायुगमा भगवान राम र जानकी बीच भएको वैदिक विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ । नगर दर्शनले जनकपुरधाम भक्तिमय बनेको थियो ।

जानकी मन्दिरको प्रांगण श्रद्धालु भक्तजनले खचाखच भरिएको थियो । राम– लक्ष्मणको प्रतीकका रूपमा सजाइएका दुई बालकलाई नगरपरिक्रमा गराएर विवाहपञ्चमीको औपचारिक शुरुवात गरिएको थियो । भगवान राम पहिलोपटक भाई लक्ष्मणसहित प्राचीन मिथिलाको राजधानी जनकपुरधाम पुगेको प्रसंगलाई यो विधीले सम्झाउंछ ।

जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले यसपालिको विवाहपञ्चमी महोत्सव मंसिर ४ गतेदेखि १० गतेसम्म विविध धार्मिक कार्यक्रमसहित भव्य रूपले मनाइने जनाएको छ । मुख्य कार्यक्रम विवाहोत्सवका लागि ‘स्वागतद्वार, पण्डाल, निमन्त्रण पत्र वितरणदेखि विवाहका सामग्री किनमेलसम्मका तयारी तीव्र रूपमा चलिरहेका उनले जानकारी समेत दिएका छन् ।

विवाहपञ्चमीको दोस्रो दिन शुक्रबार ‘फूलबारी लीला’, तेस्रो दिन शनिबार ‘धनुषयज्ञ’, चौथो दिन आइतबार ‘तीलकोत्सव’, पाँचौँ दिन सोमबार ‘मटकोर’, मंगलबार ‘राम–सीता स्वयंवर तथा वैवाहिक कार्यक्रम’ भव्य रूपमा आयोजना हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर १० गते ‘रामकलेवा’ गरी जन्तीको विदाईसँगै विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?