जेन–जी आन्दोलनपछि सक्रिय भए मन्त्री गुप्ता

४ हप्ता अगाडी न्युज डेस्क

जेन–जी आन्दोलनपछि सक्रिय भए मन्त्री गुप्ता

बाराको सिमरामा भएको तनाव साम्य पार्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको टोली जनकपुरधाममा छन् । मन्त्री गुप्ता शुक्रबार विहान सिमरामा जेन– जी समूहको बैठकमा सहजीकरणका लागि सहभागी हुने योजना रहेको जेन– जी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।

मन्त्री गुप्तासंग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ र शिव यादव पनि साथमा रहेका छन् । उनीहरूले सिमरामा प्रदर्शनरत जेनजी प्रतिनिधि र स्थानीय प्रशासनबीच वार्ता गराउने यादवले बताए । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेन– जी समूहलाई वार्तामा बोलाएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको छ । जेन– जीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताए । यता जनकपुरधाममा बिहीबार साँझ यात्री निवासमा रात्रि भोजको समेत आयोजन गरिएको छ । सो भोजमा उर्जामन्त्री कुलमान घिसिंगलगायतको समेत सहभागिता रहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?