जेन– जी आन्दोलनपछि संघीय सरकारबाट सत्ताच्यूत भएको नेकपा एमालेले मधेश प्रदेश सरकारको कमाण्ड पनि गुमाउने कगारमा पुगेको छ । मधेश प्रदेशमा एमालेसंग प्रदेश सरकारको मुख्य पदहरु नै थियो । एमालेकै सिफारिसमा प्रदेश प्रमुखमा सुमित्रा सुवेदी भण्डारी थिइन् । त्यस्तै मधेश प्रदेशसभाको सभामुखमा रामचन्द्र मण्डल एमालेबाट नै बनेका थिए । यी दुबै पद एमालेले एउटै कारणले गुमाएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादवको पद पनि अदालतमा विचाराधीन अवस्थामा छ । मधेश प्रदेशमा प्रदेश सरकारको मुख्य पद गुमाउँदै गर्दा एमालेको शीर्ष नेतृत्वमा समीक्षासहित छलफल भएको छ । अहिले मधेश प्रदेश सरकारको नेतृत्व एमालेका सरोजकुमार यादवले गरेका छन् ।
शुरुमा प्रदेश प्रमुख भण्डारीले पद गुमाए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले आफ्नै पार्टीकालाई मुख्यमन्त्री बनाउनका लागि असंवैधानिक कदम चालेको आरोप लगाउँदै सात दलीय गठबन्धनका दलसहित ७६ जना प्रदेश सांसदले दुई तिहाइ मतको आधारमा पदमुक्त गरेको छ । सात दलीय गठबन्धनले मुख्यमन्त्री पदमा असंवैधानिक ढंगले नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दिएको छ । सो मुद्दामा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
मंसिर ९ गते सर्वोच्च अदालतले सो मुद्दाको छिनोफानो गर्ने सम्भावना छ । सात दलीय गठबन्धन तर्फका कानुन व्यवसायीहरुले मुख्यमन्त्री यादवको पद जाने निश्चित रहेको विश्वास दिलाएको जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले दाबी गरेका छन् । प्रदेशमा एकपछि अर्को पद गुम्न थालेपछि एमाले नेताहरु मधेश प्रदेशबारे एमाले सचिवालय बैठकमा पनि छलफल गरेका थिए ।
मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा उदाएको एमालेलाई पटकपटक भएको मधेश आन्दोलनमा भएको क्षति भन्दा अहिले भने व्यापक क्षति भएको विषयमा सचिवालय बैठकमा गम्भीर रुपमा समीक्षा गर्दै एक नेताले सुनाए । मधेशमा पार्टीको क्षति नियन्त्रण गर्न तत्काल मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिन लगाउनुपर्ने विषय पनि एमाले सचिवालयमा बैठकमा उठेको स्रोतको दाबी छ । उनका अनुसार मधेशमा सबभन्दा ठूलो पार्टी रहेको एमालेले चुनावकै मुखमा यति ठूलो क्षति व्यहोर्नु भनेको सानोतिनो कुरा होइन ।
पार्टीमाथि प्रहार एउटा कुरा हो, तर समयमा बुद्धि नपु¥याएर चालिएको कदमले पार्टीलाई क्षति भएको छ । एमालेका सचिव योगेश भट्टराईले मधेशमा किन र कसका कारणले पार्टीलाई धक्का लाग्यो भन्दै सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ ।
पार्टीको सार्वजनिक छविमाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ ।’ पूर्वमन्त्रीसमेत रहेका भट्टराईले मधेशमा भएको घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्ने बताए । ‘मधेशमा स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्छ,’ भट्टराईले भनेका छन् ।
पार्टीको जनाधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानुपर्ने आग्रह पनि उनले गरे । उनले मधेशमा नेतृत्व गर्ने नेताहरुबाट त्रुटि भएको कुरा स्वीकार्दै नयाँ जिम्मेवारीका साथ जानुपर्नेमा जोड दिए । मधेश प्रदेशमा दुई शीर्ष नेताका कारण पदहरु गुमाउँदै जानु परेको निष्कर्ष पार्टी सचिवालयसम्म रिपोर्टिंग भएको स्रोतको दाबी छ ।
नेता लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबीच वर्चस्वको लडाइका कारण मधेशमा पार्टीको अस्तित्व माथि नै गम्भीर प्रश्न खडा भएको छ । एमाले निकट एक स्रोतले भने, मधेश प्रदेश दुई जनाको राजनीतिक द्वन्द्वका कारण पार्टी सखाप हुने अवस्था आइपुगेको छ । लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबीच मधेशमा वर्चस्वको लडाइका कारण पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताइन्छ ।
मधेश प्रदेशको राजनीतिक घटनाक्रम एमालेविरुद्ध देखिए पनि महासेठ मधेश प्रदेशमा भइरहेको घटनाबारेमा अहिलेसम्म मौन बसेका छन् ।



