जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेतायुगमा तत्कालीन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको आयोजना गरिएको धनुषयज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा यो विधि आयोजना गरिँदै आएको छ । धनुषयज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम, लक्ष्मण, भरत, शत्रुध्नलगायत सहभागी भएका धार्मिक ग्रन्थमा उल्लेख छ । रामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको वर्णन छ ।
त्यसपश्चात् मात्र माता सीताको विवाह भगवान् रामसँग भएको तुलसीकृत रामचरित्रमानसमा उल्लेख छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिन्छ । दोस्रो दिन फूलबारी लीला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर छ । मंसिर ९ गते विवाहपञ्चमीको मुख्य दिन विवाहोत्सव छ । मंसिर १० गते रामकलेवासहित अयोध्याबाट आएका जन्तीलाई विदाई गर्दै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा सम्पन्न गरिनेछ ।
यसैबीच विवाहको तिलकोत्सवका लागि जानकी मन्दिरबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह र विश्व हिन्दु परिषदको अगुवाईमा पठाइएको पाहुर भगवान रामको नगर अयोध्यामा हस्तान्तरण गरिएको छ । अयोध्यास्थित राममन्दिर अगाडि रहेको बिरला धर्मशालामा एक भव्य कार्यक्रम आयोजना गरी आरएसएस र राम मन्दिरका प्रतिनिधिलाई माता सीताको माइती पक्षबाट प्रतिनिधित्व गरेर गएका टोलीले सो पाहुर हस्तान्तरण गरेको हो ।
माइती पक्षबाट मेयरसहित विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, केन्द्रीय सदस्य मनोहर साह, जनकपुरधामका सम्भाग प्रमुख अरविन्दकुमार, वीरेन्द्रकुमार साह, जनकपुर विभाग कार्यवाहक विमलकुमार साह, महोत्तरी जिल्ला कार्यवाहक चन्दन दूवे, जनकपुर सम्भाग प्रचारक लक्ष्मण यादव लगायतका व्यक्तिहरू प्रतिनिधित्व गरेका थिए । यस्तै बेहुला भगवान श्रीरामको पक्षबाट आरएसएसका महामन्त्री पंकज सिंह, अयोध्याका पूर्व मेयर ऋषिकेश उपाध्याय र राम मन्दिरका साधु सन्तसहितका प्रतिनिधित्व गरेका थिए ।
जनकपुरधामका टोलीलाई आइतवार बिहान विदाई गरिने कार्यक्रम रहेको मेयर साहले जानकारी दिएका छन् । मिथिला वैवाहिक संस्कार अनुसार विवाहको तिलकोत्सव विधिका लागि विवाह अघि दुल्ही पक्षबाट बेहुला पक्ष कहाँ तिलकका सामाग्री सहितका पाहुर पठाउने परम्परा रहेको छ । सोही परम्परा अनुसार प्रत्येक वर्ष विवाह पञ्चमीमा वैवाहिक विधि अन्तर्गत माता सीताको अभिभावकको भूमिका निर्वाह गर्दै आएका जानकी मन्दिरले तिलकोत्सवको पाहुर पठाउंदै आएका छन् ।



