काठमाडौं । नेपालको सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेको हो । योसँगै बजारले २६०० विन्दु पार गरेको छ ।
बजारको अधिकांश कम्पनीका सेयर मूल्यमा आज वृद्धि भएको छ । कारोबारमा आएकामध्ये आज २३७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको हुँदा १८ कम्पनीका सेयर मूल्य घटेका छन् ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकमा वृद्धि भएको छ । इन्भेष्टमेन्ट र जीवन बीमा क्षेत्रमा २ प्रतिशत भन्दा धेरै वृद्धि हुँदा ट्रेडिङ बाहेक अरु सबै सूचकमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।
आज पनि सागर डिस्टिलरी, बन्दीपुर केबलबार, झापा इनर्जी लगायतका कम्पनी छन् । यी सबैको मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेको देखिन्छ ।
आज बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एक्लैले ६५ करोडको कारोबार गरेको छ । पिपुल्स हाइड्रोपावरको समेत ३४ करोडको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ६५ करोडको कारोबार आज बढ्नुमा यी दुई कम्पनीको प्रमुख योगदान रहेको देखिन्छ ।



