बारा । बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ । सोमबार बिहान ४ बजे सम्पन्न भएको मतगणनामा ११ जनाको नयाँ कार्यसमितिका सम्पूर्ण पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी भएको हो ।
सो संस्थामा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर १, २, ३, ४ र ५ का गरी ५ हजार ५ सय उपभोक्ता रहेका छन् । शनिवार भएको निर्वाचनमा अध्यक्षमा एमाले, कांग्रेस, माओवादी सहितका अन्य दलहरूले अध्यक्षमा ५ जना सहित ५२ जना उम्मेदवार उठाएका थिए ।
१६ वर्षसम्म एमाले नेता कासिम हुसेनको नेतृत्वमा रहेको सो संस्थाले ५ वटा वडामा आधा दर्जन खानेपानी ट्ंयाकी निर्माण गरेर उपभोक्ताको घरसम्म सहज ढङ्गले खानेपानीको प्रबन्ध गरेको थियो । करिब ४ करोड नगर मौजाद रकम रहेको सो संस्थामा नेतृत्व लिनेको होडबाजी नै थियो ।
सिमरा कलेजका निवर्तमान प्रमुख सुमन भट्टराईले पाका उमेरका मतदाताहरूले पनि अब नेतृत्वमा परिवर्तन चाहेको र नयाँ अनुहार खोजेको टिप्पणी गरेका छन् । ‘बुढा पाका उमेरका उपभोक्ताहरूले पनि अब परिवर्तन खोजेका छन्, एउटा सफल संस्थाको नेतृत्व पाउनु उहाँहरूको लागि अवसर र चुनौती दुवै हो’ सिमराका कलेजका प्रमुख भट्टराईले भने– ‘निर्वाचित कार्यसमितिले ४ वर्षको लागि इमानदारीपूर्वक काम गरेर देखाउन सक्नुपर्छ ।’
सिमरा खानेपानीमा घरधनीको नाममा खानेपानीको धारा जडान हुने र धाराकाे नाममा भएको व्यक्ति मात्रै मतदानमा सहभागी हुन पाउने भएकाले पाका उमेरका उपभोक्ताहरू मात्र मतदाता रहेका थिए ।



