त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह भएको सम्झनामा साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत सीतारामको प्रतीकात्मक तिलकोत्सव विधि सम्पन्न भएको छ भने सोमबार मटकोर हुने भएको छ ।
त्रेता युगमा सीता र भगवान रामको विवाह भएको संस्मरणमा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ । जानकी मन्दिरबाट ‘ भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए । विवाह पञ्चमी कार्यक्रमअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्त दास र भारतको उत्तर प्रदेशस्थित अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्त राम गिरीले अंकमाल गर्दै सम्धी मिलान गरेका थिए ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हासपरिहास कार्यक्रमसमेत भएको थियो । उक्त तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्रांगणमा पुगेर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले पाहुर ‘ भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्त गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।
विवाहपञ्चमीको पाँचौ दिन सोमबार जानकी अर्थात सीताको विवाह हुनु अघि मटकोर विधि हुनेछ । तिलकोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिलकोत्सव मनाएको थियो । विवाह हुनु अघि दुलही पक्षले दुलहालाई भार लिएर पुगेका थिए । त्यसपछि निधारमा तिलक लगाइ तिलकोत्सव विधि मनाइएको छ ।
यस क्रममा दही चिउरा, खिर पुरी, विभिन्न परिकारका मिठाइ, फलफूल, लत्ताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुसन्त जनकपुरधामस्थित राम मन्दिर परिसरमा पुगेर तिलकोत्सव गरिएको छ । भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी दासले गरेका थिए ।
तिलकोत्सवमा धनवट्टी पनि गर्ने गरिएको थियो । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामको ऐतिहासिक रंगभूमि अर्थात बाह«विघा मैदानमा धनुष यज्ञ मनाइएको थियो । सोमबार अर्थात पाँचौ दिन सीता र रामको मटकोर विधि, मुख्य दिन मंगलबार सीता र भगवान रामको विवाह तथा बुधबार रामकले व ा गरी विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।
फितलो व्यवस्थापनले श्रद्धालुलाई सास्ती
सीतारामको संस्मरणमा प्रतीकात्मक रुपमा मनाइने विवाहपञ्चमी जानकी मन्दिरले प्रत्येक वर्ष मनाइँदै आएको छ । प्रत्येक वर्ष हुने सीताराम विवाह पञ्चमी महोत्सवमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुका लागि सरोकारवालले वास्ता नगर्दा यहाँको अवस्था निकै दयनीय रहने गरेको छ ।
भारतको विभिन्न प्रान्तबाट र नेपालकासमेत विभिन्न स्थानबाट सीताराम विवाहपञ्चमीमा सीतारामको दर्शन गर्न श्रद्धालु भक्तजनहरु आउने क्रम जारी नै छ । जनकपुरधाममा दिनहुँ हजारौँको संख्या वृद्धि हुने क्रम जारी नै छ । जनकपुरधामका प्रायः होटेलहरु भारतसहितका विभिन्न देशका भक्तजनहरुले गर्दा भरिभराउ छन् ।
यस महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका अधिकांश भक्तजनहरु भने चिसोयाममा पनि जानकी मन्दिर, राम मन्दिरलगायतको परिसरमा बास बस्न बाध्य छन् । जनकपुरधाम उपमहानगरपालिकाले भने श्रद्धालु भक्तजनका लागि कुनै पनि प्रकारको सुविधाको व्यवस्था नगरेको प्रति स्थानीयहरु चिन्तित छन् ।
टाढाटाढाबाट आउने भक्तजनका लागि विश्राम, खानपान, सुत्ने व्यवस्था र शौचालयको समुचित व्यवस्था नहुँदा विवाहपञ्चमी महोत्सवपछि जनकपुरधामको अवस्था निकै दयनीय हुने स्थानीय सुमितकुमार साहले गुनासो गरे । विवाहपञ्चमी महोत्सवको क्रममा अहिले देखि नै राम मन्दिरदेखि जानकी मन्दिर, जनक मन्दिर क्षेत्रमा सडकपेटीदेखि सडकसम्मै पसल थापिएको छ भने मगन्तेहरुको पनि त्यतिकै भीड बढ्नाले बजारमा सवारी दुर्घटनादेखि चोरी लुटपाटको पनि त्यत्तिकै डर रहेको विजय कुमार साह बताउँछन् ।
महोत्सवको क्रममा विभिन्न स्थानीय क्लब तथा संघसंस्थाले स्वास्थ्य शिविर सञ्चालन, केही भक्तजनका लागि नास्ताको प्रबन्ध गरे पनि शौचालयको समुचित व्यवस्था नहुँदा जनकपुरधाम दुर्गन्धित हुने र यसले विभिन्न रोगव्याधी निम्तिने हुनाले यसतर्फ जनकपुरधाम उपमहानगर गम्भीर हुनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।
यसैबीच विवाहपञ्चमी महोत्सवबारे जानकी मन्दिरका उत्तराधिकारी महन्त दाससंग मुख्यमन्त्री सरोजकुमार यादवले चासो व्यक्त गरेका छन् । विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउने उद्देश्यले श्रद्धालु भक्तजनहरुको भीड व्यवस्थापन, सुरक्षाकर्मी परिचालन, सरसफाइ, यातायात तथा परिक्रमा मार्गको पूर्वाधार सुधारबारे छलफल भएको जनाइएको छ ।



