आज सीताराम स्वयम्बर र विवाहोत्सव

३ हप्ता अगाडी न्युज डेस्क

आज सीताराम स्वयम्बर र विवाहोत्सव

त्रेतायुगमा भगवान सीतारामबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा प्रतीकात्मक विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ । साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत अन्तर्गत मंगलबार बिहान जानकी मन्दिरमा विशेष पूजा हुनेछ । त्यसपछि मन्दिरको सरसफाई गरिनेछ । मन्दिरमा दर्शन पूजा निरन्तर चलिरहनेछ ।

दिउँसो जानकी मन्दिरबाट स्वयम्बरका लागि माता सीताको डोला बाजागाजासहित रंगभूमि मैदान (बाह«बिघा)का लागि प्रस्थान गर्नेछ । जानकी मन्दिरबाट डोला प्रस्थान गरेसंगै राम मन्दिरबाट फरक मार्ग भएर भगवान रामको डोला स्वयम्बरका लागि रंगभूमि मैदान पुग्नेछ । विवाह महोत्सवको दिन रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्बर हुने चलन छ ।

त्रेता युगमा सीता स्वयम्वरको दर्शन गर्न सबै भगवान विभिन्न रुप धारण गरी जनकपुरधाममा आएको रामायणमा वर्णन गरिएको छ । भगवान रामको डोलालाई भगवान जानकीको डोलाले परिक्रमा गर्छ । पुष्पवृष्टि गर्दै श्रद्धालुहरुले जयजयकार गर्छन् । त्रेता युगमा देवताहरु आएको संस्मण गर्दै जनकपुरधाममा रहेका अधिकांश मठमन्दिरबाट भगवानहरुलाई रथ, डोलामा सजाएर बाजागाजासहित रंगभूमि मैदानमा ल्याइने गरिन्छ ।

भगवान सीतारामको स्वयम्बर सम्पन्न भएपश्चात सीतारामको डोलासहित विभिन्न मन्दिरका डोला, झाँकीसहितको शोभायात्रा नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ । भगवान जानकीको डोला जानकी मन्दिर परिसरमा पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ हुने उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । मन्दिरको परिसरमा वैवाहिक कार्यक्रम अबेर रातिसम्म हुने गरेको छ । जसमा मिथिलाको परम्परा अनुसार भगवान सीतारामको प्रतीकात्मक विवाह सम्पन्न गरिनेछ ।

वैवाहिक कार्यक्रममा लाखौँ श्रद्धालुहरुको सहभागिता हुनेछ । जनकपुरधामको प्रायः हरेक चोक, सडक र सार्वजनिक स्थलहरुमा श्रद्धालुहरु बास बसेका छन् । यसैबीच सीताराम विवाह महोत्सवको पाँचौ दिन सोमबार माता सीताको मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट सीताको प्रतीकत्मकसहितको शोभायात्रा पवित्र गंगासागर पुगेको थियो । हजाराँै श्रद्धालुहरुको सहभागिता रहेको मटकोर विधि मिथिलामा विवाहको पूर्व हुने अत्यन्त महत्वपूर्ण मानिन्छ ।

मटकोरमा मन्दिरका उत्तराधिकारी महन्तलगायत पुजारी र मन्दिरका सखीहरुले मिथिला परम्परा अनुसारको विधिविधान पूरा गरे । मटकोर पूजा सम्पन्न भएपछि मात्र मिथिलामा विवाह हुने चलन छ । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर पूजाको विधि सम्पन्न भएको छ । मंगलबार विवाहोत्सव सम्पन्न भएपछि बुधबार रामकलेवाासंगै साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

बेहुली पक्षको तर्फबाट जानकी मन्दिर परिसरमा अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तमहन्त, श्रद्धालु भक्तजनहरुलाई विदाइसहितको भोज गरिन्छ । रामकलेवा पछि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले अयोध्याबाट आएका जन्तीहरुलाई स–सम्मानका साथ दक्षिणा दिएर विदाइ गरिने बताइएको छ ।

भगवान सीतारामको वैवाहिक कार्यक्रममा सहभागी हुन सबै लोकका देवीदेवता जनकपुरधाम आएको रामायणमा वर्णित छ । जन्तीसहित आएका महाराज दशरथको स्नान र आवासको विशेष व्यवस्था गरिएको थियो । राजा दशरथ स्थान गर्ने सरोवर दशरथ तलाउ (महाराज सागर) र त्यसको डिलमा दशरथ मन्दिर अझै विद्यमान छ ।

माता सीताको आवास सुन्दर सदनमा पनि वैवाहिक महोत्सवको आयोजन गरिएको छ । कमला नदीबाट मटकोर विधि गरी माटो ल्याइएको महन्त नवलकिशोर शरणले बताए । उनले भने, ‘कमला नदीबाट मटकोर विधि गरी माटो ल्याइएको छ, मंगलबार विवाहोत्सव कार्यक्रम रहेको छ । जनकपुरधामको प्रायः सबै मठमन्दिरहरुमा विवाह महोत्सवको अवसरमा विशेष भजन कीर्तनहरु गरिदैछ ।

जानकी मन्दिरमा सहनाई गुञ्जयमान छ । जनकपुरधाम नै विवाहमय बनेको छ । संसारमै जनकपुरधाममा मात्र भगवान रामलाई सभ्य रुपमा गाली गर्दै मैथिलानीहरु विवाहोत्सव मनाइरहेका छन् । जनकपुरधाममा भगवान रामलाई गाली गर्दै मनोरञ्जन गराइने परम्परा पनि रहेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?