साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको वैवाहिक कार्यक्रम विविधवत रुपमा सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको सर्वाधिक महत्वपूर्ण सीताको स्वयम्बर र वैवाहिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
अपरान्ह करिब पौने २ बजे बाजागाजा सहित स्वयम्बरका लागि जानकी मन्दिरबाट माता सीताको डोला रंगभूमि (बाह«विघा) मैदानका लागि प्रस्थान गरेको थियो । जानकी मन्दिरको डोला रंगभूमि मैदानमा पहिले पुग्ने चलन छ । बिहानैदेखि जानकी मन्दिरमा विशेष पूजा गरिएको थियो । देश विदेशबाट आएका श्रद्धालुहरुले डोला प्रस्थान गर्ने समय सम्म पूजा गरेका थिए ।
डोलासँगै श्रद्धालुहरु रंगभूमि मैदानमा पुगेर सीता स्वयम्बरको अलौकिक दृश्यको दर्शन गरेका थिए । रंगभूमि मैदानमा जानकी मन्दिरको डोला पुगेको केही बेरपछि राम मन्दिरको डोला बजागाजा जन्तीसहित रंगभूमि मैदान पुगेको थियो । भगवान रामको डोलासँग अयोध्याबाट आकएका जन्ती पनि सहभागी भएको थियो ।
रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्वर भएको थियो । मिथिला परम्परा अनुसार गरिएको स्वयम्वरमा जानकी मन्दिरको डोलालगायत मठमन्दिरका डोलाहरुले भगवान रामको डोलाको परिक्रमा गरेका थिए । बाह«बिघामा स्वयम्बरको कार्यक्रम चलिरहँदा हेलिकोप्टरले पुष्पवृष्टि गरिएको थियो ।
त्रेता युगमा भगवान सीतारामको स्वयम्वर रंगभूमि मैदानमा हुँदा देवीदेवताहरुले आकाशबाट पुष्पवृष्टि गरेका थिए । रामायणमा वर्णन गरिए अनुसार धनुष यज्ञको दिव्य दर्शन गर्न देवीदेवताहरु जनकपुरधाममा आएका थिए । भगवान रामले धनुष भंग गरेपछि आकाशबाट पुष्पवृष्टि गरिएको थियो । भगवान शिवको पिनाक (धनुष)लाई रावण लगायतका राजाहरुले हल्लाउनसमेत सकेका थिएनन् ।
साँझ सीता स्वयम्वर सम्पन्न भएपछि रंगभूमि मैदानबाट भगवान राम, सीतालगायतको डोलाहरु नगर परिक्रमा गर्दै जानकी मन्दिर पुगेको थियो । जानकी मन्दिरमा डोला पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ भएको थियो । मिथिला रीति, परम्परा र विधिविधान अनुसार नै भगवान सीतारामको विवाह सम्पन्न भएको उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
वैवाहिक कार्यक्रममा मिथिलानीहरुले प्रतीकात्मक अयोध्याका जन्ती र भगवान रामका दुई पुस्तालाई संगीतमय गाली सुनाएका थिए । सनातन धर्मावलम्बीहरुमा मात्र नभइ अन्य धर्मावलम्बीहरुमा पनि भगवानलाई गाली गरिदैन । तर भगवान रामको मातापिता समेतलाई गाली गर्ने विशिष्ट परम्परा जनकपुरधाममा मात्र रहेको छ ।
त्रेता युगमा भगवान रामसहित चारै दाजुभाइको विवाह एकसाथ भएको थियो । जन्तीमा आएका अयोध्याका महराज दशरथ, गुरु पुरोहितलगायतका जन्तीहरुलाई भाँतीभाँतीको गाली दिएर मैथिलानीहरु मनोरञ्जन गरेका थिए । मिथिलाकी नारीको मधुर गाली सुनेर महराज दशरथलगायतका अयोध्यावासीहरु मुग्ध भएका थिए । त्यो बेलादेखि नै विवाहमा गाली दिने चलन चलेको मान्यता छ ।
मैथिलानीहरुले भगवान रामसहित उनका मातापिता, गुरु लगायत अयोध्यावासीलाई गाली गरेको वर्णन गरिएको छ । मिथिलाकी युवराज्ञी सीताको विवाह भए पश्चात पनि लामो समय जन्तीहरु जनकपुरधाममा नै बसेका थिए । विवाहपछि जन्ती बेहुली सीतालाई लिएर अयोध्या प्रस्थान गर्दा राजा जनकले विदाइ गरेका थिए । त्यसको संस्मरण गर्दै अयोध्याबाट आएको जन्तीको सम्मानमा बुधबार जानकी मन्दिरमा रामकलेवा गरिनेछ । रामकलेवामा जन्तीलगायत श्रद्धालुहरुलाई मिथिलाको विशिष्ट परिकारसहितको भोजनपश्चात विदाइ हुनेछ ।



