विवाह पञ्चमीमा सरकारको उपस्थिति शून्य !

३ हप्ता अगाडी न्युज डेस्क

विवाह पञ्चमीमा सरकारको उपस्थिति शून्य !

जनकपुरधामको धार्मिक, सांस्कृतिक र पहिचानको रुपमा मनाइने सीताराम विवाहपञ्चमी जस्तो महामहोत्सवमा यस वर्ष सरकारका तीनै तहको समन्वय र व्यवस्थापन अत्यन्त फितलो देखिएको छ ।

महोत्सव हेर्न लाखौँ श्रद्धालु जनकपुरधाम आएका बेला रंगभूमि मैदानदेखि जानकी मन्दिर परिसरसम्म आवश्यक विश्राम स्थल, शौचालय र खानेपानीको अभावले तीर्थयात्रीहरुलाई सास्ती भोग्नु परेको छ ।

महोत्सवका मुख्य केन्द्र जनकपुरधाममा पुगेका भक्तजनका लागि रंगभूमि मैदानमा केही शौचालय निर्माण गरिए पनि विश्रामस्थलबाट निकै टाढा अस्पताल नजिक राख्दा कसैलाई थाहा हुन नसकेको कारण रंगभूमि मैदानमा यत्रतत्र दिसा पिसाब गरेको देखिएको छ । रंगभूमि मैदानमा सुतिरहेका तीर्थयात्रीहरू भन्छन्, ‘सरकारले प्रचार धेरै ग¥यो, तर व्यवस्था खासै देखिएन ।’ अर्कोतिर, प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि विभिन्न दलका नेतासम्मका तस्बिर र नामसहितका ठूला–ठूला ब्यानर जानकी मन्दिरको मुख्य प्रवेशद्वारमै झुण्ड्याइएको तर व्यवस्थापनमा कुनै सहयोग नगरेका तीर्थयात्री र स्थानीयवासीमा थप असन्तुष्टि स्वरहरु सुनिएको छ ।

जानकी मन्दिर व्यवस्थापनको अग्रपंक्तिमा रहेका उतराधिकारी महन्थ रामरोशन दासले स्थानीय तहले केही सहयोग गरे पनि प्रदेश तथा संघीय सरकारले विवाह पञ्चमी जस्तो महोत्सवप्रति कुनै चासो नदेखाएको गुनासो गरेका छन् । उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले सकेको सहयोग ग¥यो, तर प्रदेश सरकार र संघीय सरकारले ठूलो कार्यक्रमको औचित्य नै बुझेनन् ।

सरकारको निरीहताले व्यवस्थापनको बोझ मन्दिर र स्थानीयवासीमै परेको छ ।’ नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनले प्रदेश सरकारले धार्मिक पर्यटन प्रवद्र्धनका नाममा बजेट खर्च गर्छ तर वास्तविक कार्यक्रमका बेला सेवा–सुविधा उपलब्ध गराउन नसकेको टिप्पणी उनको रहेको छ ।

एक भारतीय श्रद्धालुले भने, ‘हामी हरेक वर्ष आउने गर्छौँ । तर, जनकपुरधाममा मूल समस्या उही बसोबास, खानेपानी र स्वच्छता रहेको छ । तर यसपाली त झन् अस्तव्यस्त छ ।’ प्रहरीको तर्फबाट सुरक्षा व्यवस्था कडा रूपमा गरिएको देखिए पनि तीर्थयात्रीको भीड, खानेपानी वितरण, स्वास्थ्य सहायता र सरसफाइ व्यवस्थामा समन्वयको गम्भीर अभाव रहेको स्थानीय संघसंस्थाहरूले बताएका छन् ।

जनकपुरधामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने सरकारी घोषणा भइरहे पनि विवाहपञ्चमीजस्तो अवसरमा देखिने व्यवस्थापनको कमजोरीले प्रदेश सरकारको क्षमतामाथि प्रश्न उठाएको छ । लाखौँ भक्तजन भित्रिने कार्यक्रममा पूर्वतयारी, जनशक्ति परिचालन, बसोबास व्यवस्था, पानी, यातायात र आपतकालीन स्वास्थ्य सेवा जस्ता आधारभूत कुरामा ध्यान नदिँदा ‘धार्मिक राजधानी’ को गरिमा नै कमजोर भएको स्थानीय श्याम महतोले टिप्पणी गरेका छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?