सर्लाही। सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।
लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन् । उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेका हुन् । उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने गरेको बताए ।
महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाए । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उनले भने, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।”
तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको बताए ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।



