लामोसमयदेखि बारामा चिनियाँ नागरिक र नेपाली नाबालिगबीच विवाह हुँदै आएको घटना रहस्योद्घाटन भएको छ । गुपचुप रुपमा हुँदै आएको चिनियाँ नागरिक र नेपाली नाबालिगबीच भइरहेको विवाहबारे जानकारी पाए लगत्तै प्रहरीले तत्कालै नाबालिगलाई उद्धार गरी अनुसन्धान अघि बढाएको छ ।
चिनियाँ नागरिकसंग नेपाली नाबालिगबीचको बालविवाहको घटना सार्वजनिक हुनुले नेपालको मधेश क्षेत्रमा विकसित भइरहेको नयाँ किसिमको आपराधिक प्रवृत्तिको संकेतको रुपमा नागरिक समाजका अगुवाले लिन थालेका छन् । बारामा चिनियाँ नागरिक र मुस्लिम समुदायकी एक नाबालिगबीच हुन लागेको गोप्य बालविवाह प्रहरीले रोकेको छ ।
बाराको करैयामाई गाउँपालिका–१ स्थित हरैयामा बुधवार मध्यराति प्रहरीले एक चिनियाँ नागरिक र मुस्लिम समुदायकी एक नेपाली नाबालिगबीच हुन लागेको बालविवाह रोकेको छ । आर्थिक प्रलोभन र मानव बेचबिखनको आशंकाबीच भएको यस अनौठो र नयाँ प्रवृत्तिको घटनाले स्थानीय समुदायलाई चिन्तितसमेत बनाएको छ ।
बारा प्रहरीले विवाह समारोह भइरहेकै बेला हस्तक्षेप गरी बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर घटनाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए । बारा प्रहरीका प्रहरी उपरीक्षक कुँवरका अनुसार बुधबार मध्यरातमा गोप्य सूचनाका आधारमा प्रहरी टोली हरैया गाउँ पुगेको थियो ।
विवाहको तयारी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक बेहुला, नेपाली मुस्लिम नाबालिग बेहुली र बेहुलीका बाबु जाकिर हुसेन रहेका छन् । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । एसपी कुँवरले घटना अनमेल विवाह वा बालविवाह मात्र नभइ यसको पछाडिको वास्तविक उद्देश्य पत्ता लगाउन गहिरो अनुसन्धान भइरहेको बताए । उनले भने, ‘यो अनमेल तथा बालविवाह हो वा होइन र के उद्देश्यले त्यसरी विवाह गर्न खोजिएको हो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको छ ।’ प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको खुलेको छ ।
यसले गर्दा घटनाको तार अन्तर्राष्ट्रिय स्तरसम्म जोडिएको हुन सक्ने आशंका बढेको छ । नेपालको कानुन अनुसार विवाहका लागि केटाको २२ वर्ष र केटीको २० वर्ष उमेर पुगेको हुनुपर्दछ । तर यस विवाहमा बेहुलीको उमेर मात्र १८ वर्ष पुगेको स्थानीय जनप्रतिनिधिले पुष्टि गरेका छन् । करैयामाई गाउँपालिका–१ का वडाध्यक्ष सोनालाल साहले विवाहको तयारी भइरहेको पुष्टि गर्दै बेहुलीको उमेर १८ वर्ष मात्र भएको बताए । उनले चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले नै बेहुलीको घरमा आएको बताए ।
यस नयाँ प्रवृत्तिको विवाहले वडाध्यक्ष साहलाई समेत अचम्मित बनाएको छ । उनले काठमाण्डुमा रहेका बेहुलीका आफन्तको पहुँच र समन्वयबाट गाउँमा यो विवाह सम्बन्ध रचिएको हुन सक्ने आशंका व्यक्त गरे । वडाध्यक्ष सोनालाल साहले भने, ‘यो नयाँ प्रकारको विवाहले म पनि अचम्मित भएको छु ।
केटीको उमेर १८ वर्ष पुगेको जानकारी पाएको छु ।’ बारा प्रहरीले यस क्षेत्रमा चिनियाँ नागरि कसँग मुस्लिम समुदायका महिलाले विवाह गर्ने घटनाहरू बढेको सूचना पाएको बताएको छ । एसपी कुँवरले भने, ‘त्यस गाउँ वरिपरि केही वर्षयता यस्तै चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाले विवाह गर्ने गरेको सूचना प्राप्त भएको छ, त्यसैले यो विषयमा गहिरो अनुसन्धान गर्दैछौँ ।’ स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा पहिलादेखि नै भारतमा विवाह गर्ने चलन रहे पनि चिनियाँ नागरिकसँगको विवाह हालैका वर्षहरूमा नयाँ रूपमा देखिएको छ । स्थानीय बासिन्दाहरूले यो विवाहले गाउँमा धेरैलाई अचम्मित बनाएको बताए ।
एक स्थानीय बासिन्दाका अनुसार यस्ता विवाहहरू प्रायः आर्थिक प्रलोभनमा बिचौलियाले गराइदिने गरेका छन् । स्रोतले जनाए अनुसार विगत एक वर्षयता मात्र हरैया गाउँमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भएका छन् । यसले घटनालाई व्यक्तिगत नभई एउटा सङ्गठित प्रवृत्तिको रूपमा हेर्नुपर्ने अवस्था आएको छ ।
स्थानीयहरूले आर्थिक प्रलोभनमा नाबालिगहरूलाई विवाह गराई मानव बेचबिखनको लागि विदेश लैजाने ठूलो सञ्जाल सक्रिय रहेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । पक्राउ परेका बेहुला, बेहुली र बेहुलीका बाबुलाई छुटाउन जनप्रतिनिधिहरू नै प्रहरी कार्यालय कलैया पुगेका थिए । यद्यपि प्रहरीले घटनाको संवेदनशीलता र कानुनी उल्लंघनको गम्भीरतालाई ध्यानमा राख्दै कसैलाई पनि मुक्त गरेको छैन ।
प्रहरी उपरीक्षक कुँवरले घटनाको हरेक कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको र यसमा संलग्न जो कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे । अनुसन्धान पूरा भएपछि मात्र घटनाको वास्तविक रहस्य बाहिर आउने र पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।
बारामा लामो समयदेखि चिनियाँ भाषा सिकाउनेदेखि विभिन्न सामाजिक विकास कार्यमा समेत लगानी लगाउने र नेपाली नागरिकलाई विभिन्न प्रलोभनमा पारेर चीन लग्ने गरेको बताइन्छ ।



