राष्ट्रिय परीक्षा बोर्डको बेवास्ताले विधेयक अन्योल

२ हप्ता अगाडी न्युज डेस्क

राष्ट्रिय परीक्षा बोर्डको बेवास्ताले विधेयक अन्योल

एसईई परीक्षामा १४ वर्षे उमेर हद प्रावधान हटाउने निर्णय अहिलेसम्म पनि कार्यान्वयनमा आएको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ सालमै एसईई परीक्षामा १४ वर्ष उमेर पुगेपछि मात्र सहभागी हुनुपर्ने प्रावधान हटाउने निर्णय गरिएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले चार वर्षदेखि सो निर्देशनको कार्यान्वयन गर्नमा बेवास्ता गर्दै आएको छ ।

मन्त्रालयले विधेयक बनाए पनि बोर्डले उक्त विधेयकलाई बेवास्ता गर्दा कक्षा १० पूरा गरिसके पनि उमेर नपुगेका सयौँ विद्यार्थीको भविष्य अन्योल नै छ । खासगरी सरकारी विद्यालयका विद्यार्थी प्रभावित हुने खतरा बढ्दै गएपछि अभिभावक, विद्यालय र शिक्षा क्षेत्रका सरोकारवालाहरूले बोर्डमाथि प्रश्न चिन्ह खडा गर्न थालेका छन् ।

यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप जनकपुरधामका प्रधानाध्यापक संजय कुमार झाले बोर्डले जारी गरेको १४ वर्षे उमेर हदका कारण आफ्नो विद्यालयका केही विद्यार्थी परेको बताउँछन् । उनले भने ‘परीक्षाबाटै वञ्चित हुने अवस्था छैन, सम्बन्धित पालिकाबाट जन्म दर्तामा मिति सच्याउँदा फारम भर्ने सक्नेछ । आफ्ना विद्यालयका पनि उमेर नपुगेका विद्यार्थीहरुलाई जन्मदर्तामा मिति सच्याएर ल्याउन भनेको छु ।’

धनुषा जिल्लामै एक दर्जनबढी विद्यालय छन् । जसमा केही न केही विद्यार्थी उमेर हदमा परेका छन् । तर तिनीहरु पनि पालिकाबाट जन्मदर्ता सच्याएर नभए नयाँ जन्मदर्ता नै बनाएर फारम भर्ने गरेका छन् । जिल्ला शिक्षा इकाइ समितिले उमेर हदकै कारण परीक्षाबाट वञ्चित हुने कुरा हामी कहाँ जानकारी आएको छैन ।

त्यस्तो भए पनि विद्यालयले नै सम्बन्धित पालिकाबाट समन्वय गरी जन्ममिति सच्याएर काम गराउने गरेको बताए । मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा ४(ज)(१) अनुसार २०७८ चैत २ गते मन्त्रीस्तरीय निर्णय गर्दै एसईईमा उमेरहद नलगाउने स्पष्ट निर्देशन दिएको थियो । सो निर्णय कार्यान्वयनका लागि २०७८ चैत ७ गते राष्ट्रिय परीक्षा बोर्डमा पत्र दर्ता गरिएको थियो ।

तर बोर्डले त्यसको कार्यान्वयन गरी उल्टै, २०८३ सालका लागि कार्तिक १९ गते जारी गरेको रजिस्ट्रेशन सूचनामा पनि पुरानै १४ वर्षको सर्त यथावत नै राखेको छ । उक्त सूचनाको तेस्रो नम्बरको बुँदामा २०८२ मा रजिस्ट्रेसन फाराम भरी २०८३ को माध्यमिक शिक्षा परीक्षा समावेश हुनका लागि २०८३ चैत मसान्तमा १४ वर्ष उमेर पूरा गरेको हुनुपर्ने छ भनी उल्लेख गरिएको छ । कार्तिक १९ गतेदेखि रजिष्ट्रेशन फारम भराइँदैछ ।

मंसिर २४ गतेसम्म रजिष्ट्रेशन फारम भरिनेछ । नेपालको शैक्षिक संरचनामा निजी र सार्वजनिक विद्यालयबीच प्रारम्भिक तहमै असमानता छ । निजी विद्यालयमा प्लेग्रुप, एलकेजी, युकेजीजस्ता तह हुँदा विद्यार्थीहरू औपचारिक कक्षा १ शुरु गर्नु अघि नै तीन वर्षसम्म प्रारम्भिक शिक्षा लिन्छन् । यसले उनीहरूलाई कक्षा १० सम्म पुग्दा उमेर १४/१५ वर्ष पुग्ने हाल्छ ।

तर सरकारी विद्यालयमा यस्तो व्यवस्था नभएकाले विद्यार्थीहरू कक्षा १ नै छिट्टै शुरु गर्ने, जम्प गरेर माथिल्लो कक्षामा भर्ना हुने वा केही वर्षमै कक्षा १० सम्म पुग्ने गरेकाले समस्यामा पर्ने गरेका छन् । धेरै सरकारी विद्यालयका विद्यार्थी १३ वर्षमै कक्षा १० पूरा गर्ने अवस्थामा पुग्छन् । उनीहरूले समयमै परीक्षा दिने इच्छा राखे पनि १४ वर्ष नपुग्दा राष्ट्रिय परीक्षा बोर्डको सफ्टवेयरले नै फर्म नलिने स्थिति बनाएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?