काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ।
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको छ ।
विभागले हालसम्म दुई सय ६३ आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ । विभागले चालु आवको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको छ । यसैगरी विभागमा चालु आवको हालसम्म कूल ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् । विभागमा हालसम्म कूल एक सय ९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता नौ हजार छ सय ८९ मेगावाट रहेको छ ।



