मधेश प्रदेशका वन तथा वातावरण मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेश सभालाई पत्राचार गरेको छ ।
राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत २४ कार्तिकमा संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । पार्टीको निर्देशन विपरीत उनी मंसिर ८ गते वन तथा वातावरण मन्त्री बनिन् । राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर उनी मन्त्री पद छोड्न नमानेपछि पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।
पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पु¥याएर राप्रपाले उनलाई प्रदेश सांसद पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको छ । राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित मधेश प्रदेश सभालाई पत्र पठाइएको छ ।
मधेश प्रदेशसभा सचिवालयमा आइतबार पत्र प्राप्त भएपछि उपसभामुख बबिता राउत इशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।



