प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न जनमत पार्टीले ३०/३५ लाख रुपैयासम्म खर्च गर्न सक्ने शर्त राखेका छन् । जनमतले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बन्न चाहनेहरूका लागि खुल्ला गरेको आवेदनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्ति निर्वाचन आयोगको सीमाभित्र रहेर ३०/३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्षम हुनुपर्ने जनमतको सर्त छ ।
जनमत पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाहाका अनुसार आयोगले तोकेको खर्च सीमाअनुसार कम्तीमा ३०/३५ लाख रुपैयाँ खर्च गर्न सक्षम हुनुपर्ने मापदण्ड बनाइएको हो । ‘प्रत्यक्षतर्फ उम्मेदवार हुँदा निर्वाचन खर्चका लागि तोकिएको मापदण्ड बमोजिमको ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्षम व्यक्ति हुनुपर्नेछ,’ कुशवाहाले लोकान्तरसँग भने, ‘त्यति रकम यदि बैंकमा छ भने बैंक स्टेटमेन्ट देखाए हुन्छ । किन भने निर्वाचनमा लाग्ने खर्च उसले कम्तीमा आफैं व्यहोर्ने व्यक्ति हुनुपर्छ ।’ उक्त रकम निर्वाचन प्रचार प्रसार समितिमा निर्वाचन अघि नै जम्मा गर्नुपर्ने सर्त समेत जनमतले राखेको छ ।
यसबाहेक समानुपातिकतर्फको उम्मेदवारका लागि पनि पार्टी र प्रत्यक्षतर्फको उम्मेदवारको चुनावमा प्रचार प्रसार तथा आर्थिक सहयोग गरेको हुनुपर्ने सर्त जनमतको छ । समानुपातिक उम्मेदवार ७७ वटै जिल्लाको भोटबाट निर्वाचित हुने भएकाले पार्टीको निर्देशन बमोजिम अन्य जिल्लामा प्रचार प्रसार गतिविधिमा खटिनुपर्ने र सो अनुसारको गाडी खर्च, खाने बस्ने तथा प्रचार प्रसार सामग्री खर्च व्यवस्थापन समानुपातिक उम्मेदवार आफैंले जोहो गर्नुपर्ने सर्त पनि जनमतले राखेको छ ।
समानुपातिक उम्मेदवारका लागि खर्च सीमा तोकिएको छैन । जनमत पार्टीले आवेदन माग गर्दा पार्टीको सदस्यता लिएको भए सदस्यता शुल्क बुझाएको हुनुपर्ने, अन्य पार्टीमा आबद्ध भए सो पार्टीको नाम तथा पद खुलाउन भनेको छ । त्यसैगरी, विगतमा कुनै निर्वाचनमा भाग लिएको भए सोको विवरण, राजनीतिक पृष्ठभूमि, जित्ने आधार, जित्ने रणनीति, अरूले सिफारिस गरेको भए सिफारिस गर्नेको विवरणसहित आवेदन दिन पार्टीले आग्रह गरेको छ ।
पार्टीले तोकेको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट छनोट गरी पार्टीको केन्द्रीय कार्यकारिणी समिति/सचिवालय समितिले अन्तिम उम्मेदवारको नाम घोषणा गरिने जनमतले जनाएको छ ।



