जनकपुरधाम । मैथिली रंगमञ्चको क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील संस्था मिथिला नाट्य कला परिषद् (मिनाप)को नवनिर्मित नाटक घर सोमबार उद्घाटन गरिएको छ ।
जनकपुरधाम–४ मा करिब २ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नाटक घरमा ३ सय दर्शक क्षमता रहेको मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यसहित संरचना तयार गरिएको र यसले मैथिली नाटक क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए ।
उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले नाटक घर सञ्चालनले कलाकारको जीविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नाटक घर निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । साथै महेन्द्र मलंगियाद्वारा लिखित नाटक ‘छुतहा घैल’ प्रमेश झाको निर्देशनमा मिनापका कलाकारहरूले मञ्चन गरेका थिए ।



