वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढ्दै गएको छ ।
अहिले ठगी भएको भन्दै ठगिनेहरु काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयमा दैनिक करिब पाँच वटा उजुरी आउने गरेको जनाइएको छ । कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको जानकारी दिए । उनले बुधबार मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए ।
प्रहरी उपरीक्षक आचार्यले भने, ‘तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगिका घटना बढ्दो नै छ।’ उनले पीडितबाट एक करोड २५ लाख रुपैयाँ बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।
अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
सर्लाही घर भइ ललितपुरका चन्द्रभूषण प्रसादलाई तीन लाख ८० हजार रुपैयाँ ठगीको आरोपमा पक्राउ गरिएको छ । सूचना अधिकारी आचार्यले जनाए अनुसार अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ ।
त्यस्तै नवलपरासी घर भइ हाल काठमाण्डुका दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर चार लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको छ । उनीहरू तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही अघि बढाउनका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।



