हुलाकी सडकअन्तर्गत धनुषा– सिरहा जोड्ने कमला पुल निर्माणका लागि स्थानीय बासिन्दाले चन्दा संकलन अभियान थालेका छन् ।
कमला पुलमा उपस्थित भइ अभियानका अगुवाहरूले औपचारिक रूपमा चन्दा संकलन थालेको सामाजिक अभियन्ता रामरिझन यादवले जानकारी दिए । ‘१४ वर्षअघि काम शुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ । विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ,’ यादवले भने, ‘पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको छ ।’ अभियन्ता यादवका अनुसार सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन थालिएको छ ।
पटक– पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनले बताए । मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, मन्त्रीको प्रतिबद्धतामा ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ ।
कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । धनुषा, सिरहा र सप्तरीका बवासिन्दाबाट चन्दा संकलन गरेर सरकारलाई बुझाइने अभियन्ताहरुको भनाइ छ । यस अभियानका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा संकलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाइने उनले बताए ।



