विश्व सम्पदा सूचीबारे युनेस्को टोलीसंग छलफल

७ दिन अगाडी न्युज डेस्क

विश्व सम्पदा सूचीबारे युनेस्को टोलीसंग छलफल

ऐतिहासिक तथा धार्मिक महत्वका बोकेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्बन्धमा युनेस्कोको टोलीसंग जानकी मन्दिरमा छलफल भएको छ ।

जानकी मन्दिरको निरीक्षण तथा मूल्यांकनमा खटिएका युनेस्कोको अध्ययन टोलीले जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबीच आइतबार छलफल भएको छ । उक्त भेटमा युनेस्को टोलीले मन्दिरको महत्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको अवस्था तथा भविष्यमुखी योजना सम्बन्धमा विस्तृत जानकारी लिएको थियो । टोलीले सम्पदाको दीगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली र सरसफाइदेखि पर्यटक व्यवस्थासम्मका विषयमा प्रत्यक्ष अवलोकनसमेत गरेको छ ।

उत्तराधिकारी महन्त दासले युनेस्को टोलीसँगको छलफललाई अत्यन्त महत्वपूर्ण माइलस्टोनको रूपमा उल्लेख गरे । उनले भने, ‘जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभइ मिथिला संस्कृतिको जीवित सभ्यता छ । यसको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक छ

हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध छौं ।’ उनले मन्दिर क्षेत्रमा व्यवस्थापन सुधार, संरचनागत संरक्षण, पर्यटक प्रवाह व्यवस्थापन र सांस्कृतिक सम्पदाको दिगोपनालाई ध्यानमा राखेर मन्दिर व्यवस्थापन समितिले हालै विभिन्न योजना अघि सारेको बताए । विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि र मिथिला सांस्कृतिक पहिचान विश्वभर थप प्रबल हुने उनको भनाइ छ ।

युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना तथा भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने योजना रहेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?