ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

७ दिन अगाडी न्युज डेस्क

ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह पक्राउ परेपछि सर्लाहीका किसानहरुले केही राहत महसुस गरेका छन् ।

सर्लाहीको विभिन्न १७ स्थानमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहका ९ जनालाई प्रहरीले मंसिरको पहिलो साता पक्राउ गरेको थियो । सिचाइँका लागि खेतमा जडान गरिएका ट्रान्सफर्मर चोरी हुँदा किसान, नेपाल विद्युत प्राधिकरण र प्रहरी हैरान भइरहेका थिए । ट्रान्सफर्मर चोरी भएपछि किसान सिचाइँ सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले ट्रान्सफर्मर चोरीमा संलग्न ९ जनालाई पक्राउ गरेपछि चोरीको दबाब र तनावबाट मुक्ति मिलेको बताए । हालसम्मको अनुसन्धानमा यस घटनामा अझै केही व्यक्तिको संलग्नता देखिएकाले फरार रहेकाहरूको खोजी जारी रहेको उनले जानकारी दिए । पक्राउ परेकामध्ये चार जना भारतीय नागरिकसमेत छन् ।

पक्राउ पर्नेमा इलामको माइजोगमाई गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरी बर्दिवास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का ३३ वर्षीय दिलीपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् ।

त्यस्तै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मोहम्मद रयाजुल र ३५ वर्षीय सञ्जित पदार्थ रहेका छन् । उनीहरूलाई हाल सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी अनुसन्धान भइरहेको उनले बताए । प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेकाहरूको साथबाट चोरी गरिएको ट्रान्सफर्मरका तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको ५१ थान औजार र दुई थान ई–रिक्सा बरामद गरिएको छ ।

सर्लाही प्रहरीका अनुसार चोरी गरिएका ट्रान्सफर्मरका तार तथा उपकरण बारा, पर्सा लगायतका स्थानमा लगेर बिक्री गर्ने गरिएको खुलेको छ । यस गिरोहमा संलग्न भई फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको भए पनि प्रहरीले थप विवरण खुलाएको छैन । वीरगञ्जबाट ई–रिक्सामै राति आएर ट्रान्सफर्मर चोरी गर्ने गरेको सूचना पाएपछि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो । ट्रान्सफर्मर चोरीका कारण बागमती, लालबन्दीको रानीगञ्ज, चन्द्रनगरलगायत क्षेत्रका किसानले सास्ती भोग्दै आएको थियो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?