सोझी युवतीको छवि बदलेर ‘भिलेन’ बनेकी लक्ष्मी बर्देवा

५ दिन अगाडी न्युज डेस्क

सोझी युवतीको छवि बदलेर ‘भिलेन’ बनेकी लक्ष्मी बर्देवा

काठमाडौं ।  लक्ष्मी बर्देवा भन्नेबित्तिकै सिधा, सरल र निम्न तथा मध्यम वर्गीय संघर्षशील पात्रको भूमिकामा उनले गरेको अभिनय याद आउँछ । भनिन्छ नि, सधैं हिँडिरहेको बाटोभन्दा फरक बाटोको यात्रा गर्दा चुनौतीसँगै अवसर पनि आउँछन् ।

थिएटरदेखि फिल्मसम्मको यात्राले खारिएकी अभिनेत्री लक्ष्मी बर्देवाको पछिल्लो फिल्म ‘अभिमन्यु च्याप्टर १’ ले अभिनयमा नयाँ मोड ल्याइदिएको छ । कारण यो फिल्ममा उनले खलपात्र अर्थात् भिलेनको भूमिकामा आफूलाई उभ्याएकी छन् । भिलेनको चरित्रलाई दर्शकले रुचाउलान् कि नरुचाउलान् भन्ने कुराले केही समय त उनलाई तनाव पनि दियो । जब हलमा फिल्म लाग्यो, दर्शकले उनको कामको तारिफ गरे ।

‘पहिलो पटक अभिनय गरेको नकारात्मक भूमिकाले सुरुमा त डर लागिरहेको थियो । तर अहिले दर्शकबाट तारिफ बटुल्दा उत्साहित छु,’ रातोपाटीसँग लक्ष्मी भन्छिन् । ‘प्रेमगीत ३’ पछि उनको नयाँ फिल्म आएको हो । ‘अभिमन्यु’ ५ वर्षपछि उनलाई काममा फर्किने माध्यम बन्यो ।

‘सुरुमा मलाई फिल्मको लिड रोल हो भन्ने थाहा थिएन, विभिन्न कारणले मेरो फिल्म ग्याप भइरहेको थियो’, उनी भन्छिन्, ‘म त जस्ट काममा फर्किन चाहन्थेँ ।’ निर्माता विनोद पौडेल दाइले अफर गरेपछि स्क्रिप्ट पढ्दा मनपर्‍यो ।’ सोचेभन्दा राम्रो र महत्त्वपूर्ण भूमिका पाएकाले अभिनय गरेको उनी सुनाउँछिन् ।

फिल्मको रिलिज मिति पटक–पटक सर्दै अहिले आएको हो । सुरुमा यो फिल्म भदौ २७ गते प्रदर्शन तयारीमा थियो । फिल्मको रिलिज मिति पटक-पटक सर्दा र निर्माण पक्षको फितलो मार्केटिङले सोचेजस्तो व्यापार नभएको पनि लक्ष्मी स्वीकार्छिन् ।

‘फिल्म राम्रो बनेको छ, फिल्मको ट्रेलरले पनि राम्रो हाइप पाएको थियो । त्यो समय रिलिज नहुनु र पटक–पटक डेट सर्नुले असर गर्‍यो’, उनी भन्छिन्, ‘निर्माताको हलवालासँग सम्बन्ध बिग्रिएका कारण पनि त्यसको प्रत्यक्ष असर फिल्मको व्यवसायमा पर्‍यो ।’ यस फिल्मका निर्माता विनोद पौडेलले ऐतिहासिक रेकर्ड राख्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका थिए ।

फिल्मको व्यापार राम्रो नहुनुको दोष निर्माण पक्षले कलाकारको टाउकोमा थुपार्ने प्रवृत्तिमाथि उनलाई चित्त दुख्छ । आफ्नो काम इमान्दारीपूर्वक गरेपनि लगानी उठाउने जिम्मा कलाकारको मात्र नहुने उनी बताउँछिन् ।

‘अभिमन्यु’ पछि लक्ष्मीले विच्छेद’, ‘अनन्त’, ‘शक्ति’, ‘विमान’ लगायत आधा दर्जन फिल्म गरेकी छन् । ती फिल्म प्रदर्शनको पर्खाइमा छ । फिल्म रिलिज नहुँदा उनी बेरोजगार जस्तो देखिएकी छन् ।

‘मलाई सुटिङ सेटमा हुँदा त ग्याप फिल हुँदैन थियो, तर जब दर्शकले खोइ तपाईंको फिल्म भनेर सोध्नुहुन्थ्यो, अनि झसङ्ग हुन्थेँ,’ लक्ष्मी भन्छिन्, ‘काम गरेर पनि परिणाम नदेखिँदाको पीडा कस्तो हुन्छ भन्ने यो पटक मैले राम्रैसँग अनुभव गरें ।’

म्युजिक भिडियोमा किन ?

फिल्ममा काम कम आएको बेला लक्ष्मी म्युजिक भिडियोमा निकै व्यस्त बनिन् । उनका लगातार म्युजिक भिडियोहरु रिलिज भए ।

‘साँच्चै भन्नुपर्दा लकडाउनको समयमा भिडियो नगरेको भए म कता हुन्थेँ होला’, उनी भन्छिन्, ‘फिल्म नबन्दा भिडियोले नै मलाई टिकायो । त्यसपछि मैले भिडियो पनि लगातार गर्दै गएँ ।’

लक्ष्मी म्युजिक भिडियोमा केवल मोडलको रूपमा मात्र सीमित छैनन् । उनले धेरै भिडियो आफैंले निर्देशन समेत गरेकी छन् । अरूको निर्देशनमा काम गर्दा कहिलेकाहीँ चित्त नबुझ्ने वा आफूले चाहेजस्तो चरित्र नपाउने अवस्था हुन्छ । त्यसैले आफैंले निर्देशन गर्न थालेको उनी सुनाउँछिन् ।

‘मैले जतिवटा भिडियो गरेँ, त्यसमा आफैंले निर्देशन गर्ने हुँदा राम्रो क्यारेक्टर बाँच्न पाएँ र एकदमै इन्जोय गरेँ’, लक्ष्मी भन्छिन्, ‘निर्देशनको यो अनुभवले मलाई मेरो अर्को क्षमता चिन्ने मौका दियो ।’ म्युजिक भिडियोमा काम नगरेको भए आफूमा रहेको निर्देशकीय क्षमता कहिल्यै बाहिर नआउने उनी बताउँछिन् ।

पछिल्लो समय म्युजिक भिडियोमा पनि केही कमी आएको छ । त्यसको कारण उनी म्युजिक भिडियो निर्माणका लागि बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई मान्छिन् । भ्युज र ट्रेन्डिङको पछि लाग्ने होडबाजीमा म्युजिक भिडियोको गुणस्तर ओझेलमा परेको लक्ष्मीको बुझाइ छ । चित्तबुझ्दो काम नआएपछि उनले म्युजिक भिडियो पनि बिस्तारै कम गर्दै लगेकी हुन् ।

थुप्रै म्युजिक भिडियो निर्देशक फिल्ममा होमिइसकेका छन् । तत्कालै फिल्म निर्देशन गर्ने सोच लक्ष्मीको छैन रे । ‘हामीले दैनिक जीवनमा देखिरहेको तर नजरअन्दाज गरिरहेको, मेरै घरको, झ्यालको वा ढोकाको कथा जस्तो लाग्ने फिल्म बनाउन मन छ’, उनी भन्छिन् । उनी अहिले श्रीमान् जीवन भट्टराईसँग मिलेर होम प्रोडक्सनबाट फिल्म निर्माणको तयारीमा भने जुटेकी छन् ।

रंगमञ्च कहिले फर्किने ?

लक्ष्मी थिएटर (रङ्गमञ्च)बाट फिल्ममा भित्रिएकी हुन् । तर रङ्गमञ्चमा नटेकेको करिब ८ वर्ष भइसकेछ । थिएटरमा शतप्रतिशत समय दिनुपर्ने र त्यसबापतको प्रतिफलले जीवन धान्न गाह्रो हुने यथार्थले उनलाई त्यहाँ जान दिएको छैन । ‘थिएटर गएको छैन भन्दा लाज लाग्ने बेला भइसक्यो,’ लक्ष्मी भन्छिन् ।

पछिल्लो समय चल्तीका फिल्म कलाकारहरू थिएटरतिर आकर्षित भइरहेका छन् । उनी पनि आफ्नो पुरानो घर फर्किन चाहन्छिन् । उनको एउटा स्पष्ट मान्यता छ, ‘जहाँ समय दिए पनि शतप्रतिशत दिन सक्नुपर्छ ।’

‘सिक्नका लागि थिएटर जस्तो अर्को ठाउँ छैन’, उनी भन्छिन्, ‘सही समय र परिस्थिति मिलेमा म फेरि रंगमञ्चमा फर्किनेछु ।’ फिल्मका कलाकार थिएटरमा आउनु र थिएटरका कलाकार फिल्ममा जानुलाई उनी समानता र सिकाइको आदानप्रदानको रूपमा लिन्छिन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?