विरगञ्जस्थित कन्सुलेट जनरल अफ इण्डियाको आयोजनामा जनकपुरधाममा ओडिसी नृत्य कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम स्थित मैथिली विकास कोषको भवनमा आयोजित सो नृत्य कार्यक्रममा भारतीय शास्त्रीय नृत्यका ख्याति प्राप्त कलाकार सन्ध्या कुञ्जन मेनन दास तथा उनको समूहले प्रदर्शन गरेको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिणाले सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप सबल बनाउने विश्वास व्यक्त गरे । महावाणिज्यदूत मिणाले भार त–नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यस प्रकारका कार्यक्रमले अझ नजिक ल्याउने उल्लेख गर्दै दूतावासले आगामी दिनमा पनि यसैगरी कला, संस्कृति तथा मैत्री सम्बन्ध प्रवद्र्धनका उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाए ।
यसैगरी कार्यक्रममा जनकपुरधाम उपमहानगरका मेयर मनोज साहले कला–संस्कृति कुनै पनि समाजको पहिचान र गौरव हुने भन्दै भारत–नेपालबीचको सांस्कृतिक सहकार्यले दुवै देशका नागरिकबीच आपसी सद्भाव र निकटता थप मजबुत भएको बताए । मेयर साहले जनकपुरधाममा यस्तो सांस्कृतिक प्रस्तुति यहाँ आयोजना हुनु स्वयंमा सकारात्मक र प्रेरणादायी भएको उल्लेख गरे ।
उपमहानगरपालिकाका तर्फबाट पनि सांस्कृतिक संरक्षण तथा प्रवद्र्धनका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय प्रशासक, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। ओडिसी नृत्यका विविध रूप, भाव र कथागाथासहितको प्रस्तुति दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।



