राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशकी सांसद कञ्चन विच्छालाई समानुपातिकतर्फतको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ ।
राप्रपाको शुक्रबार काठमाण्डुमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सांसद विच्छालाई समानुपातिक सूचीबाट हटाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
यससँगै राप्रपाले सांसद विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट हटाउने निर्णय पनि अनुमोदन गरेको छ । राप्रपाले गरेको निर्णयमा भनिएको छ, ‘पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी हुनु भएका मधेश प्रदेशका समानुपातिक महिलातर्फका सांसद कञ्चन विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्काशन गर्ने केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अनुमोदन गर्दै निजलाई मधेश प्रदेशको महिला समानुपातिकतर्फको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ ।’ सांसद विच्छा नेकपा (एमाले) नेतृत्वमा बनेको मधेस प्रदेश सरकारमा सहभागी भएकी थिइन् । उनलाई राप्रपाले सांसदबाट हटाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले उनलाई सांसदबाट नहटाउन मंसिर २३ मा अन्तरिम आदेश दिएको थियो ।



