कमला पुलको गलत डिजाइनविरुद्ध छानबीन प्रक्रिया थालिदै

२० घन्टा अगाडी न्युज डेस्क

कमला पुलको गलत डिजाइनविरुद्ध छानबीन प्रक्रिया थालिदै

गलत डिजाइनकै कारण धनुषा–सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल भाँसिएको खुलेपछि सडक विभागका उच्च तहका अधिकारीहरूविरुद्ध छानबिनको तयारी थालिने बुझिएकोछ ।

महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ले पुलको डिजाइनमा ‘गम्भीर प्राविधिक त्रुटि’ भएको भन्दै प्रारम्भिक चरणमै कमजोरीका कारण संरचना नै असफल भएको निष्कर्ष निकालेको थियो । प्रतिवेदन अनुसार पुलको पाइल (पाया) को लम्बाइ आवश्यक मानकभन्दा अत्यन्त कम राखिएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराइ पर्याप्त नभएको, र निर्माणका क्रममा अनिवार्य मानिने ‘पाइल लोड टेस्ट’ नै नगरिएको सहितका प्राविधिक त्रुटिका कारण पुल भासिन गएको प्रतिवेदनले स्पष्ट पारेको हो ।

उक्त पुलको प्रारम्भिक डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हाल सडक विभागका महानिर्देशक डा. बिजय जैशीले तयार पारेका थिए भन्ने उल्लेख प्रतिवेदनमा छ । यस्तै, विभागका उपमहानिर्देशक प्रभातकुमार झा समेत यो प्रक्रियामा संलग्न रहेकाले दुवै अधिकारीसहित सम्बन्धित संरचनात्मक, प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका अन्य पदाधिकारी छानबिनको दायरामा पर्ने संकेत प्रतिवेदनले दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले प्रतिवेदनका निष्कर्ष अनुसार थप अनुसन्धान अघि बढाउने र आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउने तयारी थालेको मन्त्रालय श्रोतले जनाएको छ । १४ वर्षसम्म कमला पुल बन्न सकेन भन्ने तिव्र आलोचना हुन थालेपछि भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आफै पुगेर सो पुलको निरिक्षण गरेका थिए । उनले चाँडै नै निर्माण प्रक्रिया बढाउने प्रतिबद्धता जनाउंदै फर्केका थिए ।

पुल के कति कारण भासिएको प्रतिवेदन अध्ययन गरी मन्त्री घिसिङले छानबीन प्रक्रिया अघि बढाउन थाल्न लागेको ती श्रोतको भनाई छ । उक्त पुलको डिजाइन स्वीकृतमा संलग्न तत्कालीन सडक बिभागका महानिर्देशक दिनकर शर्मा, बोलपत्र स्वीकृति प्रक्रियामा संलग्न महानिर्देशकहरु माधवकुमार कार्की, रामकुमार लम्साल, हरिओम श्रीवास्तव रहेका थिए ।

पुल निर्माण गर्ने ठेक्का तत्कालीन सांसद हरिनारायण रौनियारको पप्पु कन्ष्ट्रक्सन र बिष्णुप्रसाद शर्मा संचालक रहेको लुम्बिनी बिल्डर्स प्रालिले पाएका थिए । उक्त पुल २०६८ जेठमा करिब २५ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त पुल २०७१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । तर आठ पटक थपिएको म्यादसमेत गएको २०८२ असारमै समाप्त भइसकेको छ ।

पुलको अवस्था भने जस्ताको तस्तै छ । उक्त पुल निर्माण अलपत्र रहँदा सिरहा र धनुषाका बासिन्दा एक अर्को जिल्लामा जान करिब ५० किलोमिटर घुम्न बाध्य छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक बिभाग अन्तर्गतका बर्षौदेखि अलपत्र पारिएका ठेक्का तोड्ने, काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने अभियान नै चलाएका छन् ।

तर त्रुटिपूर्ण डिजाइन गरेकै कारण कमला पुल भासिएको तथ्य उजागर भएपछि त्यसको छानबीन प्रक्रिया अघि बढाउने भएको छ । मन्त्री घिसिङले नवौं पटक ठेक्का म्याद थप नहुने प्रतिबद्धता जनाएपनि महानिर्देशक जैशीले कूटनीतिक शैलीमा ठेक्का म्याद थप प्रक्रिया अघि बढाइसकेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?