रामजानकी सेवा समितिले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १, स्टेशन एरियामा अवस्थित रामजानकी मन्दिरको जग्गा तथा सम्पत्ति दुरुपयोग भइरहेको आरोप लगाएको छ ।
समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अनिल कुमार सिंह भनिने अनिल दास वैष्णव नामका व्यक्तिले मन्दिरमा जबरजस्ती कब्जा जमाई आफूलाई महन्थ–पुजारी भएको भ्रम फैलाउँदै मन्दिरको सम्पूर्ण चल–अचल सम्पत्तिमा एकलौटी रूपमा हकभोग गर्दै आएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा समितिले सार्वजनिक रामजानकी देवता मन्दिरमा अनाधिकार प्रवेश गरी अनिल दासले मन्दिरको जग्गा, पोखरीलगायत सम्पत्तिबाट हुने आय– आम्दानी व्यक्तिगत रूपमा उपभोग गर्दै आएको र त्यसको कुनै पनि हिसाब–किताब सार्वजनिक नगरेको दाबी गरेको छ ।
समितिका अध्यक्ष रामदेव महतोका अनुसार मन्दिरको नाममा रहेको जग्गा र पोखरीको ठेक्का रकम अनिल दासले खाइरहेको र सम्बन्धित कागजातसमेत आफ्नो नियन्त्रणमा राखेको बताए । उनले अनधिकृत रूपमा मन्दिरमा प्रवेश गरी कब्जा जमाएर मन्दिरको सम्पत्ति नष्ट गर्दै आएको आरोप लगाउँदै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी सार्वजनिक जग्गा मुक्त गराउन तथा कानुनी कारबाही गर्न माग गरे ।
अध्यक्ष महतोले गृहमन्त्रालयदेखि नगरपालिका सम्म प्रमाणसहित निवेदन पेस गरिसकिएको भए पनि हालसम्म मन्दिर खाली गराउने कुनै ठोस प्रयास नदेखिएको गुनासो गरे । समितिले सम्बन्धित निकायसँग सार्वजनिक धार्मिक सम्पत्तिको संरक्षणका लागि शीघ्र हस्तक्षेप गर्न माग गरेको छ ।



