नेपाल रेल्वेको व्यथा : तलबमा करोडौ खर्चिए पनि संचालन ज्यालादारीकै भरमा !

१३ घन्टा अगाडी न्युज डेस्क

नेपाल रेल्वेको व्यथा : तलबमा करोडौ खर्चिए पनि संचालन ज्यालादारीकै भरमा !

करीब ४ वर्षअघि संचालनमा ल्याइएको नेपाल रेल्वेको जनकपुर जयनगर रेल सेवा अन्तर्गत भारतीय कर्मचारीको तलबमा ९४ लाख रुपैया बढी खर्च गरिएपनि ज्यालादारी कर्मचारीकै भरमा संचालन भइरहेको छ ।

लामो समयको पर्खाईपछि २०७८ चैत ११ गतेदेखि निकै तामझाका साथ नेपाल रेलवेको जयनगर—जनकपुर–कुर्था संचालनमा ल्याइयो । तर ४ नबित्दै व्यवस्थापनको अभावमा लथालिङ्ग अवस्थामा पुगेको छ । गत भदौ महिनादेखि नेपाल रेल्वे कम्पनीमा न प्रबन्ध संचालक छन्, न प्रमुख प्रशाकीय अधिकृत । प्रबन्धक संचालक निरञ्जन झाको भदौमा कार्यकाल सकेपछि उक्त पद खाली छ भने लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको रेल्वेमा अहिले त्यो निमित्त पनि छैनन् ।

निमित्तको जिम्मेवारी पाएका तुला बहादुर डागीले जागिरबाट राजीनामा दिएपनि स्वीकृत नभएपनि उनी कार्यालय आउन छाडेका छन । अहिले रेलवे खरिदार तहका केवल बहादुर नेपाली र उत्तिमलाल पण्डित मात्र दुईजना कर्मचारी छन । हाल महानिर्देशक हरिकुमार पोखरेललाई अख्तियारी दिएर ती दुई कर्मचारीको भरमा १४४ जना ज्यालादारी कर्मचारीको सहयोगले संचालन हुँदै आएको छ ।

प्रबन्धक संचालकको जिम्मेवारी पाएका पोखरेल काठमाण्डूमै बस्दै आएको कारण आर्थिकदेखि प्रशासनिकसम्मको कार्यका लागि फाइल बोकेर काठमाण्डू नै धाउनुपर्ने बाध्यता रहेको कर्मचारीहरु बताउंछन् । नाम नबताउने शर्तमा एक ज्यालादारी कर्मचारीले भने के भनौ निकै दुख छ ।

कर्मचारीको तलबदेखि एउटा डटपेनसम्म किन्न र कुनै निर्णय गराउनु पर्दा फाइल बोकेर स्थायी कर्मचारी केवल सर काठमाण्डू नै ओहोर दोहोर गरिरहेका हुन्छन् । सबभन्दा विकट समस्या के हो भने लेखापाल समेत नेपाल रेल्वेको आफ्नो छैन । कोलेनिकाबाट थप जिम्मेवारीमा पठाइएका लेखापालबाट काम गराइदैं आएको छ ।

तीन महिनाको बांकी तलबमा कर्मचारीहरुलाई मात्र दुई महिनाको तलब एक साता अगाडि खुवाइएको उनले भने । पाठ्यक्रम नै स्वीकृत नभएका कारण संचालनको ४ वर्ष बित्न लाग्दा पनि स्थायी कर्मचारीका लागि विज्ञापन आह्वान भएको छैन । अन्य एक कर्मचारीले भने चार बित्न लाग्यो, पाठ्यक्रम तयार भए पनि स्वीकृत नभएको कारण अहिलेसम्म विज्ञापन नगर्दा हामी ज्यालादारी कर्मचारीकै भरमा संचालन भइरहेको छ । झण्डै चार वर्षदेखि सञ्चालनमा रहेको रेल सेवा निरन्तर सञ्चालनमा रहेपनि हालसम्म कुनै वर्ष फाइदा भएको छैन् ।

तथ्यांक अनुसार रेल्वेलाई आम्दानीभन्दा साढे ३ गुणाबढी खर्च छ । नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यवसायिक कार्ययोजना, २०८२ अनुसार आ.व. २०७६।७७ देखि २०८०।८१ सम्ममा १९ करोड २१ लख आम्दानी हुँदा ६७ करोड ३७ लाख खर्च भएको छ । समग्रमा नेपाल रेल्वेलाई पाँच आर्थिक वर्षमा ४८ करोड १४ लाख घाटा रहेको छ ।

नेपाली रेल सञ्चालन भएकोमा सो वर्ष ८ करोड ४६ लाख घाटा भएको थियो। कम्पनीका अनुसार सो आवमा २ करोड ५४ लाख आम्दानी हुँदा ११ करोड खर्च भएको थियो । यस्तै, आव २०७९।८० मा १९ करोड ६१ लाख घाटा हुँदा आव २०८०।८१ मा १७ करोड ७६ लाख घाटा भएको थियो । नेपाल रेल्वे कम्पनीको आम्दानीको रूपमा टिकट विक्री, वीरगञ्जको जग्गा तथा गोदाम भाडा र सटर भाडा तथा तरकारी बजार भाडाबाट प्राप्त हुने आम्दानी रहेको छ ।

आव २०८०।८१ मा टिकट विक्रीबाट ७ करोड ७९ लाख ६६ हजार ३५० रूपैयाँ, वीरगञ्जको जग्गा तथा गोदाम भाडाबाट २९ लाख ५४ हजार ७३ रूपैयाँ र सटर भाडा तथा तरकारी बजार भाडाबाट ४१ लख २० हजार ४६४ गरी ८ करोड ५० लाख ४० हजार ८८७ रूपैयाँ आम्दानी भएको थियो । गत आवमा कति आम्दानी र खर्च भयो कम्पनीले त्यसको तथ्यांक उपलब्ध गराएको छैन् ।

श्रोतका अनुसार कर्मचारीको तलब एक करोड भन्दा बढी रुपैयाको खर्च हुँदै आएको छ । जसमा सबभन्दा बढी २३ जना भारतीय कर्मचारीमा करीब ९४ लाख बढी र ज्यालादारीमा रहेका १ सय ४४ जना कर्मचारीमा ३०÷३२ लाखको हाराहारीमा तलब खर्च हुँदै आएको छ । ज्यालादारी कर्मचारीहरुको आफ्नै पीडा छ ।

एक कर्मचारीले भने बिहान ७ बजेदेखि ९ बजे रातिसम्म खटाउंछन् । तर ज्यालाको नाममा तह अनुसार ५ सय १५ रुपैयाँदेखि ११ सय रुपैयाँ दिइन्छ । १४ घण्टा काम गर्ने इन्जिनीयर मात्र ११ सय रुपैया तलब पाउछन । तर चालक बाहेक कहिलेकाही मात्र डियूटीमा आउने भारतीय कर्मचारी महिनाको डेढ लाख रुपैयासम्म तलब पाउंछन् ।

रेलवे संचालनका जिम्मा लिएका भारतका कोकन कम्पनीले सन् २०२६ सम्म रेल संचालन गर्ने र सो अवधिमा दक्ष जनशक्ति तयार पारेर दिने भन्ने सम्झौता समेत भएकोमा नेपाल सरकारले स्थायी कर्मचारी नियुक्त गर्न नसक्दा हालसम्म त्यो विषय अलपत्र छन् । जसका कारण मासिक रूपमा करिब ९४ लाख रूपैयाँ बढी भारतीय कर्मचारीमा खर्च हुने गरेको छ ।

नेपाल रेल्वे कम्पनीले अहिले मासिक ९४ लाख ९५ हजार ८७० रूपैयाँ भारतीय जनशक्तिमा खर्च गर्ने गरेको छ । कम्पनीका अनुसार सोही जनशक्ति नेपाली भएको खण्डमा १० लाख २ हजार १९६ रूपैयाँ मात्र खर्च हुनेछ । अहिले कम्पनीले ८४ लाख ९३ हजार ६७४ रूपैयाँ मासिक बढी खर्च गर्ने गरेको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्लीबाट संयुक्त रूपमा २०७८ चैत १९ मा नेपालको एक मात्र न्यारोगेजबाट ब्रोडगेजमा परिणत गर्न बन्द रहेको रेल सेवा तामझामका साथ सुरु भएपछि सुरुमा भारतको जयनगरदेखि धनुषाको जनकपुरधाम स्थित कुर्था स्टेशनसम्म ३८ किलोमिटरमा सञ्चालनमा रहेकोमा त्यसलाई विस्तार गरिएको छ । २०८० असार ३१ देखि कुर्था स्टेशनदेखि भंगहा रेल्वे स्टेशनसम्म थप १७ किलोमिटर रेल सेवालाई विस्तार गरिएको छ ।

अहिले भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म कुल ५२ किलोमिटरमा रेल सेवा सञ्चालनमा रहेको छ । उक्त क्षेत्रफलमा अहिले दैनिक तीन पटक नेपाली रेल गुड्छ । बिहान महोत्तरीको भंगहा स्टेशनबाट खुल्ने रेल भारतको जयनगर गएपछि पुनः फर्कँदा जनकपुरधाम स्टेशनसम्म पुग्छ। त्यहाँबाट पुनः जयनगर र जयनगरबाट आउँदा कुर्था हुँदै भंगहासम्म पुग्छ ।

महोत्तरीको विजलपुरा (भंगहा) देखि भारतको जयनगरसम्म ५२ किलोमिटर क्षेत्रफलमा चल्ने रेल्वेको लागि विभिन्न स्थानमा १२ वटा स्टेशन रहेको छ भने भाडा न्यूनतम २० देखि अधिकतम १३० रूपैयाँ जेनेरल टिकेटको रहेको छ। एसी कोचको भने न्यूनतम एक सय रहेको छ भने अधिकतम ६५० रूपैयाँ रहेको छ । रेल्वेका लागि महोत्तरीको बिजलपुरा, सिँग्याही, लोहरपट्टी, खुट्टा पिपराढी, धनुषाको कुर्था, जनकपुरधाम, परवाहा, वैदेही, महिनाथपुर, इनर्वा र भारतको जयनगरमा स्टेशन रहेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले रेल्वेलाई फाइदामा लग्नका लागि व्यवसायिक कार्ययोजना, २०८२ समेत तयार गरेको छ । उक्त कार्ययोजनालाई कार्यान्वयन गरे पहिलो वर्षमै ३३ करोड ७२ लाख ३२ हजार आम्दानी भई रेल्वे फाइदामा जाने देखिन्छ । कार्ययोजना अनुसार दोस्रो वर्षमा ३४ करोड ३२ लाख ३२ हजार र तेस्रो वर्षदेखि ४२ करोड ३२ लाख ३२ हजार आम्दानी हुन सक्ने जनाएको छ ।

यसका लागि कम्पनीले खर्च कटौति सम्बन्धि कार्यक्रम, जनशक्ति विकास कार्यक्रम, उपलब्ध स्रोतको अधिकतम परिचालन र वैज्ञानिक भाडादर सम्बन्धी कार्यक्रम, सम्पत्ति तथा पूर्वाधार व्यवस्थापन सम्बन्धी कार्यक्रम, विद्यमान सेवाको सुधार तथा रेल सेवा विस्तार सम्बन्धी कार्यक्रम, सेवाको विविधिकरण सम्बन्धी कार्यक्रम लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?