पर्यटक भिसामा महिलालाई कुवेत पठाउन गिरोह नै सक्रिय

१ मिनेटute अगाडी न्युज डेस्क

पर्यटक भिसामा महिलालाई कुवेत पठाउन गिरोह नै सक्रिय

काठमाडौँ । पर्यटक भिसा लगाएर महिलालाई कुवेत पठाउने गिरोह नै सक्रिय भएको भेटिएको छ ।

बिचौलियाहरूले कुवेतमा घरेलु कामदारका रूपमा पठाउन नेपाली महिलालाई पर्यटक भिसामा पठाउने गरेका छन् । सरकारले २०७३ सालदेखि घरेलु कामदार कुवेत पठाउन रोक लगाएको थियो, तर बिचौलियाहरूले घुम्न जाने कागजात बनाएर त्यहाँ काम गर्ने गरी महिलाहरूलाई पठाउन थालेको भेटिएको हो ।

डिसेम्बर ५ मा गिरोहले ‘सेटिङ’ मिलाएर एक महिलालाई कुवेत पठाए । कुवेत जान उनले हिमालय एयरलाइन्सको बोर्डिङ पास लिएको देखिन्छ ।

बिचौलियाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमनको पर्यटक भिसा देखाएर ती महिलालाई कुवेत पठाएका हुन् । विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा उनले ओमनको भिसा पेस गरेको भेटिएको छ ।

नेपालबाट ओमन जान पर्यटक भिसा लाग्ने भएकाले बिचौलियाहरूले सो सुविधाको दुरुपयोग गरी महिलालाई कुवेत पठाएका हुन् । विमानस्थलमा देखिएको भिसाअनुसार ओमन जानुपर्ने ती महिला हिमालय एयरलाइन्सको सीधा उडानमार्फत कुवेत पुगेको विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

घरेलु काम गर्न पठाइएकी ती महिलाले भिसाअनुसार गन्तव्य देशसम्मको बोर्डिङ लिएर जानुपर्नेमा कुवेत गएकी हुन् । विमानस्थल अध्यागमन कार्यालयका ती अधिकृत भन्छन्, ‘सबै कागजात ओमनको देखाएपछि त्यहीँ जानुपर्ने थियो, तर कुवेत गएको देखिन्छ । ती महिलासँग कुवेतको अर्को भिसा पनि हुन सक्छ ।’ उनका अनुसार महिलाले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र उक्त भिसा देखाइन्, काठमाडौँमा देखाइनन् ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको निर्णयविपरीत मुलुकमा घरेलु कामदार पठाएको भेटिए त्यसमा संलग्नहरूलाई कारबाही गरिने बताएका छन् । उनले भने, ‘कुवेतमा घरेलु कामदारको रूपमा कसैले पठाउँछ भने त्यसबारे छानबिन हुन्छ ।’

कुवेत सरकारले भिजिट भिसामा जाने नेपालीहरूलाई कडाइ गर्दै आएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट नेपालबाट बिचौलियाहरूले कुवेत पठाएर त्यहाँ घरेलु काममा लगाउने र उनीहरू श्रम तथा यौनशोषणमा पर्ने गरेको पत्ता लागेको छ ।

चीनमा समेत मानव तस्करी

अधिकारीहरूका अनुसार पछिल्लो समय ओमनको भिसा लगाएर गिरोहले महिलाहरूलाई चीनतर्फ पनि तस्करी गर्ने गरेको पाइएको छ । चीनमा बच्चा जन्माउन लगाएर त्यसबापत कमिसन लेनदेन गर्नेहरू सक्रिय देखिएको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले दाबी गरेका छन् ।

काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा कात्तिक २९ गते चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

सोह्रखुट्टेस्थित मिलिजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको थियो । विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताएअनुसार उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको हो ।

भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूबाट सेटिङमा रकम असुलिने गरेको तथ्य बाहिरिएसँगै पर्यटक भिसामा विदेश यात्राका लागि आवश्यक पर्ने कागजातसम्बन्धी ‘मापदण्ड’ परिमार्जन गरिएको छ । २०८० माघ १० देखि लागू गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड खारेज गरेर गृह मन्त्रालयले कात्तिक १३ गतेदेखि नयाँ मापदण्ड लागु गरेको हो ।

महानिर्देशक तिवारीले बताएअनुसार परिमार्जित नयाँ मापदण्डअनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।

भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र भ्रमणबाट सिर्जित परिणामका लागि स्वयं जिम्मेवार रहने व्यहोराको स्वघोषणा फारम भराएर भिजिट भिसामा प्रस्थान अनुमति दिइनेछ ।

अध्यागमन विभागको निष्कर्ष छ कि ६ बुँदे मापदण्डका कारण बिचौलियाहरूले चलखेल गरी ‘सेटिङ’ धन्दा सञ्चालन गरेका थिए ।

नयाँ मापदण्ड यस्तो छः

–कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।

–सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा ‘अन अराइभल भिसा’ प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने ।

–प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट ।

–आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?