साहित्यिक हीरक अङ्कमा हिरा गौतमको एक लाखको अक्षयकोष घोषणा

२ मिनेटutes अगाडी न्युज डेस्क

साहित्यिक हीरक अङ्कमा हिरा गौतमको एक लाखको अक्षयकोष घोषणा

जीवनराज दाहाल (बर्दिवास, महोत्तरी)
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क) कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले साहित्यिक क्षेत्रप्रति महत्वपूर्ण योगदानको घोषणा गरेका छन् ।

शनिबार बर्दिबासमा सम्पन्न कार्यक्रममा गौतमले प्रतिष्ठानको दीर्घकालीन साहित्यिक यात्रालाई थप मजबुत बनाउने उद्देश्यसहित वार्षिक एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले प्रतिष्ठानलाई व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै ७५ अङ्क अंकित दीप प्रज्वलन गरेका गौतमले २०७४ सालमा स्थापना भएको बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानले साहित्य, संस्कृति र सामाजिक चेतनाको विकासमा उल्लेखनीय भूमिका खेलेको बताए । उनले यस्ता साहित्यिक अभियानले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा नियमित साहित्यिक शृङ्खला तथा दोस्रो चरणमा बन्दसत्र सञ्चालन गरिएको थियो । सचिव यशोदा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष जीवनस्पर्शीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा नारायण घिमिरे, विष्णु खड्का, निर्मल घिमिरे, मोहमद कामरुदिन नदाफलगायतले शुभकामना मन्तव्य राखेका थिए । कविता, गीत, गजल र मुक्तक वाचनसँगै सारङ्गी वादक सुमन सारङ्गी र समीक्षा परियारको प्रस्तुतिले हीरक अङ्कलाई विशेष बनाएको थियो ।

बन्दसत्रमा अध्यक्ष पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै पुरानो समिति विघटन गरेपछि सर्वसम्मत रूपमा नयाँ समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा यशोदा श्रेष्ठ चयन भएकी छन् ।

कार्यक्रमको समापनमा निर्वतमान अध्यक्ष पौडेलले साहित्यप्रति सकारात्मक सोच र सहयोग घोषणाका लागि प्रमुख अतिथि हिरा गौतमप्रति विशेष आभार व्यक्त गरे ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?